अमेरिकी सेनाले चिनियाँ ‘मालवेयर’काे खाेजी गर्दै


 


काठमाडौं । अमेरिकी अधिकारीहरूले विभिन्न प्रतिरक्षा प्रणालीमा लुकेर बसेको चिनियाँ मालवेयरको खोजी गरिरहेको बताइएको छ ।

सेनाको प्रणालीभित्र लुकेर रहेको यो मालवेयरले सैन्य सञ्चार एवं आपूर्ति कार्यमा बाधा पुर्‍याउन सक्ने न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

‘पावर ग्रिड, सञ्चार प्रणाली एवं सैन्य आधारको पानी आपूर्ति नेटवर्कभित्र’ चिनियाँ हानिकारक कम्प्युटर कोड लुकेर रहेको अमेरिकी अधिकारीहरुको आशंका छ । यसबाट ह्याकरहरूले द्वन्द्वका बेला अमेरिकी सैन्य अपरेसनमा बाधा पुर्‍याउन सक्ने चिन्ता उनीहरुको छ ।

एक सांसदले मालवेयर ‘टिक टाइम बम’ जस्तो भएको र यसले चीनलाई सैन्य अड्डामा बिजुली, पानी एवं सञ्चारमा कटौती गर्न अनुमति दिनसक्ने बताएका छन् । यस्तै, तैनाथ र आपूर्ति कार्यमा पनि यसले ढिलाइ गर्न दिनेछ ।

सैन्य आधारहरुमा पनि मानिसहरुको घरमा जसरी नै आपूर्ति हुने भएका कारण यो चिन्ता बढी छ । गत हप्ता चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सको इमेल अकाउन्ट ह्याक भएको विषयले पछिल्लो समय चिनियाँ मालवेयरको चिन्ता बढेको छ ।

यस महिना जुलाईको सुरुमा चीनमा आधारित ह्याकरहरूले केही सरकारी एजेन्सीसहित दुई दर्जन संस्थाको ईमेल अकाउन्टमा पहुँच पुर्‍याएको माइक्रोसफ्ट र ह्वाइट हाउसले पुष्टि गरेको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्