माओवादीका महरा बाउछोरा जोगाउने गृहमन्त्री श्रेष्ठको राजीनामा माग सान्दर्भिक


 


काठमाडौं । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकण र ललिता निवास जग्गा प्रकरणको फाइल खोलेर प्रशंसा बटुलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको वास्तविक मुखुण्डो भने विस्तारै उत्रिँदै गएको छ। माओवादीको क्‍यान्टोनमेन्ट घोटाला प्रकरणको फाइल लुकाउन उद्दत गृहमन्त्री श्रेष्ठमाथि पछिल्लो समय थप अर्को अपराध संरक्षण गरेको आरोप लागेको छ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास गरेर बाहिरिएको एक क्‍विन्टल सुन समातिएपछि गृहमन्त्री श्रेष्ठमाथि प्रश्‍न उठेको हो। यसै विषयलाई लिएर नेकपा एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेको हो। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त गृहमन्त्री श्रेष्ठको मिलेमतोमा नै सुन बाहिरिएको र पछि सीआईबीको सक्रियतामा सुन समातिएको बताएका छन्।

देशको सुरक्षाको जिम्मेवारी लिएका श्रेष्ठको मिलोमितोबिना सुन बाहिरिन नसक्‍ने दाबी गर्दै गृहमन्त्रीले राजीनामा दिएर उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेले माग गरेको छ।

यता सय केजी सुन प्रकरणका वास्तविक मालिकलाई प्रहरीले पक्राउ गर्न सकेको छैन भने गृहमन्त्री श्रेष्ठ पनि भरियालाई मालिक करार गरेर यसलाई रापसाफ गर्ने दाउमा देखिन्छन्।

यतिमात्र नभएर उनले सुन तस्करी प्रकरणमा जोडिएका आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरालाई भने उन्मुक्ति दिइरहेका छन्। विद्युतीय चुरोटमा सुन राखेर ल्याइएको र विमानस्थलमा अलपत्र हुँदा महराका छोराले पटक पटक फोन गरेर लिलामी गर्न दबाब दिएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले दाबी गरेका छन्।

‘कृष्णबहादुर महराको बाबु छोराले सुन बाहिर लैजान धेरै पटक फोन गरेको अभियोगपत्रमा पनि उल्लेख छ,’ गिरीले भने, ‘तस्करीको सुन लिलामा लैजान दबाब किन दिनु भयो? यसमा किन छानबिन भएन र बयान समेत गराइएन।’

सुन तस्करीमा कर्मचारीको मिलेमतो रहेको भन्दै उनले कसरी विमानस्थल भित्रैबाट सुन बिक्री भयो भनि उनले प्रश्न गरे। उनले यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेको, तर महराका बाबु छोरालाई बयान समेत नगराएकोले गृहमन्त्रीको नैतिकतामाथि नै प्रश्‍न उठ्‍ने र दोषिलाई उन्मुक्ति दिएकाले कानुनी प्रश्‍न पनि उठेको बताएका छन्।

चिनियाँ नागरिकसँग १९५ पटक फोनमा कुराकानी भएको भन्दै उनीहरुमाथि किन अनुसन्धान नगरेर उन्मुक्ति दिइयो भनेर प्रश्न गरे। ‘निर्दोषहरुलाई खोजी खोजी कारबाही हुने गरेको, तर ठूला माछाहरु उम्किँदै आएका छन्,’ उनले भने, ‘भन्न्सारका कर्मचारी भक्तिलाल श्रेष्ठले बयानमै महराको छोराले पटक–पटक फोन गरेको बताएका छन्। तर किन अनुसन्धानाको दायरमा ल्याइएन।’

विगतमा महराको चिनियाँ व्यपारीसँग पैसा डिल गरेको कुरा अडियोसहित बाहिर आएको भन्दै सत्ताको आडमा अनुसन्धान नहुने गरेको आरोप लगाउँदै अहिले पनि सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठेकोले राजीनामा दिनुपर्ने उनले बताएका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले करीब १०० किलो सुन तस्करी सामान्य विषय नभएको भन्दै सेटिङमा सुन तस्करीबारे गृहमन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताएका हुन्।

महरा बाबुछोराको कनेक्सन देखिँदा पनि जोगाउन लागि परेका गृहमन्त्री
भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग नेकपा पूर्वसभामुखसमेत रहेका महरा र उनका छोरा राहुलको कनेक्सन स्पष्ट देखिँदा पनि उनले जोगाउने विभिन्‍न रणनीति र प्रहरी प्रशासनलाई दबाब दिइरहेका छन्।

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग नेता महरा र उनका छोरा राहुलको बारम्बार सम्पर्क रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोराको सुन तस्करसँग सम्बन्ध देखिएको र जफत भएको भेप लिलामीमा राहुलले चासो देखाएको समेत पाइएको छ।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप)भित्र ठूलो मात्रामा सुन लुकाएर ल्याएका थिए । व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याएको भनी ‘भेप’ जफत गरियो। पछि विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले भेपभित्र सुन रहेको थाहा पाएपछि सुन चोरीमा दिनेश बस्नेत, भन्सारका नायब सुब्बा रेवन्त खड्का लगायत जोडिएका थिए।

दिनेशले नासु रेवन्तको सहयोगमा सुन रहेको भेप निकाली सक्कली भेप राख्न सफल भएका थिए। यो समूहले भेपबाट करिब ९ किलो सुन निकाली प्रतितोला ८० हजार रुपैयाँमा सुन तस्करीमा संलग्न गिरोहलाई बिक्री गरेको पनि अनुसन्धानमा खुलेको छ।

नेता महराका छोरा राहुलले विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतलाई सम्पर्क गरी लिलामीको प्रक्रिया अगाडि बढाइदिन आग्रह गर्दै लिलामको प्रक्रियाबारे बुझेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई राहुलले मोबाइलमा फोन गरी लिलामी प्रक्रियाबारे चासो राखेका थिए ।

यसरी चिनियाँ नागरिक ली हानसोङले भेप भनी तस्करी गरी ल्याएको सुन छुटाउन नेता महराका छोरा राहुलले चासो दिएकामा प्रहरीले उनीहरूको ‘कनेक्सन’ भएको प्रमाणसहितको प्रतिवेदन पेश गरेको छ। यसरी प्रमाण पेश हुँदा महराका बाबुछोरालाई नसमात्‍न र प्रमाण कमजोर बनाउन गृहमन्त्रीले दबाब दिइरहेको प्रहरी स्रोतले जनाएको छ।

यसरी आफ्नो पार्टीका नेताहरुलाई जसरी पनि जोगाउने र अपराधलाई दलीयकरण गर्ने गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्ने नेकपा एमाले र रास्वपाको माग सान्दर्भिक भएको टिप्पणीहरु भइरहेका छन्।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्