महिला एशिया कप क्रिकेटमा नेपाल र बंगलादेश भिड्ने


 


nepali-women-cricket-teamकाठमाडौं, मंसिर १४

थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा बुधबार नेपाल र बंगलादेश भिड्नेछन् ।

प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल आजको खेल जित्दै अंक तालिकामा खाता खोल्न चाहन्छ ।

तर टेष्ट मान्यताप्राप्त राष्ट्र बंगलादेशविरुद्धको खेल पनि नेपाली चेलीका लागि सहज हुने छैन ।

यसअघि प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपाललाई पाकिस्तान र श्रीलंकाले फराकिलो अन्तरमा हराएका थिए ।

पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको नेपाल दोस्रो खेलमा हिजो श्रीलंकासँग ८ विकेटले पराजित भयो ।

पहिले ब्याटिङ्ग गरेको नेपालले कमजोर प्रदर्शन गर्दै १६ ओभर २ बलमा अलआउट हुँदै जम्मा २३ रनमात्रै बनायो ।

जवाफमा २४ रनको झिनो चुनौती श्रीलंकाले ४ ओभर ३ बलमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो ।

६ टोली सहभागी प्रतियोगिताको सबैभन्दा कमजोर टिम मानिएको नेपाल अंक तालिकाको पुछारमा छ ।

दोस्रो चरणको समाप्तिसम्म सत्प्रतिशत नतिजासहित भारत र पाकिस्तान शीर्ष दुईमा छन् भने श्रीलंका र बंगलादेश तेस्रो र चौथो स्थानमा छन् ।

अंकविहीन भए पनि आयोजक थाइल्याण्ड रन रेटका आधारमा नेपालभन्दा माथि छ ।

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्