कोशी प्रदेशबारे बाबुराम भट्टराईको टिप्पणी – मध्यावधिमा जानु नै उपयुक्त
काठमाडौं, साउन १४
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने टिप्पणी गरेका छन् ।
कोशी प्रदेश सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत मध्यावधि निर्वाचनको विकल्प सुझाएका हुन् ।
भट्टराईले राप्रपातर्फ संकेत गर्दै घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्ट्याएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा मध्यावधिमा जानुपर्ने सुझाव दिए ।
‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्विकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र रु’ उनले भनेका छन्, ‘यस्तै सत्तालिप्साले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’
प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार