क्यानडामा सन्दीपको उत्कृष्ट प्रदर्शन, तीनवटै खेलमा अवार्ड


 


काठमाडौं, साउन १३ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि–२० क्यानडामा सर्रे जागुअर्सबाट तीनै खेलमा अवार्ड जितेका छन् ।

उत्कृष्ट बलिङ प्रदर्शन गरेका सन्दीपले सर्रेको दुई जित र एक हारमा गरि तीनै खेलमा समान ५ सय डलर (६६ हजार रुपैयाँ) पुरस्कार राशी भएको मोमेन्ट अफ अफ द म्याच अवार्ड जित्न सफल भएका हुन् ।

सन्दीपले शनिबार बिहान मिसिसौगा प्यान्थर्सविरुद्ध पनि उक्त अवार्ड जितेका हुन् । टोलीलाई ५५ रनको सानदार जित दिलाउन सन्दीपले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्यान्थर्स एक समय १२ ओभरमा ८८–३ को बलियो अवस्थामा थियो । १३ औं ओभरमा सन्दीपले दुई महत्वपूर्ण विकेट लिँदै खेलमा सानदार पूनरागमन गराएका थिए ।

सन्दीपले १३ औं ओभरको चौथो बलमा सर्वाधिक ३३ रन बनाएका क्यामरन दीलपोर्ट र एक बलपछि जेम्श निसमलाई स्टम्पिङ आउट गरेका थिए ।

एक समय ८८।३ को बलियो अवस्थामा रहेको प्यान्थर्स १ सय ९ रनमै अल आउट भएको थियो । यसअघि सन्दीपले टोरन्टो नेशनलविरुद्ध ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिँदै उक्त अवार्ड जितेका थिए ।

सन्दीपले मोन्टरिएलविरुद्ध पनि उक्त अवार्ड प्राप्त पाएका थिए । मोन्टरिएलविरुद्ध हारको बाबजुद सन्दीपले उक्त अवार्ड प्राप्त गरेका थिए । सर्रे ४ खेलमा २ मा जित, १ मा हार र १ खेल वर्षाको कारण रद्द हुन पुगेको थियो ।

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले टोरान्टो नेशनलसँग शनिबार साँझ प्रतिस्पर्धा गर्नेछ । सन्दीपको टोलीले आज राती १ः ४५ मा भ्यानकुभर नाइट्ससँग खेल्नेछ ।

प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्