पपुवा न्यु गिनी टी २० विश्वकपमा छनोट


 


काठमाडौं, साउन १२ । पपुवा न्यु गिनी (पीएनजी) अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी २० विश्वकपमा छनोट भएको छ ।

इस्ट एसिया प्यासिफिक रिजनको अन्तिम चरणको छनोट अन्तर्गत शुक्रबार फिलिपिन्सलाई १०० रनले पराजित गर्दै पीएनजीले टी २० विश्वकपमा स्थान पक्का गरेको छ ।

घरेलु मैदान अमिनी पार्का भएको खेलमा पहिले ब्याटिङ गरेको पीएनजीले टोनी उरा, असद भाला र चार्ल्स अमिनीको अर्धशतकमा ६ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

उराले सर्वाधिक ६१ रन बनाउँदा भालाले ५९ र अमिनीले ५३ रन बनाए । २३० रनको लक्ष्य पछ्याएको फिलिपिन्स २० ओभरमा ७ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

तीन टोली सम्मिलित इस्ट एसिया प्यासिफिक छनोटमा ५ खेलबाट १० अंक जोडेर पीएनजी शीर्ष स्थानमा छ । सहभागी टिमले हरेक टिमसँग दुई खेल खेल्नेछ । दोस्रो स्थानको जापानको ५ खेलबाट ६ अंक छ । पीएनजीले अब अन्तिम खेल जापानसँग खेल्न बाँकी छ ।

पीएनजीले अन्तिम खेल हारे पनि विजेता बन्ने पक्का भइसकेकोले एक खेल अगावै विश्वकपमा छनोट भएको हो ।

२०२४ मा हुने टी २० विश्वकपमा कूल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सहभागी टोलीलाई ५ टिम रहेको चार समूहमा विभाजन गरिनेछ ।

वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा सिधै छनोट हुँदा गत वर्षको टी २० विश्वकपमा उत्कृष्ट ८ मा रहेका इंग्ल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्ड्स पनि सिधै छनोट भएका छन् ।

यस्तै २०२२ नोभेम्बरको टी २० वरीयतामा माथि रहेका अफगानिस्तान र बंगलादेश पनि सिधै छनोट भइसकेका छन् ।

बाँकी ८ स्थानका लागि टी २० विश्वकपमा युरोप, एसिया र अफ्रिकाबाट २२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १ १ टिम छनोट हुने प्रावधान छ ।

एसिया क्षेत्रको अन्तिम चरणको छनोट आगामी नोभेम्बर पहिलो साता नेपालमा हुँदैछ ।

प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्