१९औँ एसियाडमा नेपालका २ सय ३४ खेलाडी सहभागी हुने, कुन–कुन खेलमा लिँदैछन् भाग ?


 


काठमाडौं, साउन १२ । चीनको हाङ्झाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालबाट दुई सय ३४ जना खेलाडीले सहभागिता जनाउने निश्चित भएको छ ।

१९औँ एसियाली खेलकुदको तयारी तथा सहभागीको विषयमा राष्ट्रिय खेल सङ्घहरूसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताका २९ वटा खेलमा भाग लिँने खेलाडीको संख्या तय गरिएको जानकारी दिएका हुन् ।

‘नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ जना खेलाडी सहभागी गराउने छ । सकेसम्म बढी खेलाडीले एसियाडजस्तो ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव सँगाल्ने अवसर पाउन भनेर निकै मेहनत गरी खेलाडी सङ्ख्या दुई सय ३४ पुर्‍याइएको हो,’ सदस्यसचिव घिसिङले भने ।

सदस्यसचिव घिसिङले खेलाडीको प्लेइङ किट्स (आवश्यक खेल सामाग्री) का लागि सम्बन्धित संघहरुलाई आवश्यक तयारी थाल्न सुझाव दिए ।

सुरुआती चरणमा नेपालले आगामी एसियाडमा २३ वटा खेलमा मात्र सहभागिता जनाउने निर्णय लिएको थियो । त्यतिबेला नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र शुटिङ गरी २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको थियो ।

त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले रग्बी, स्क्वास, टेनिस, इ—स्पोर्टस र डान्स स्पोर्टस गरी पाँचवटा खेल थप्ने निर्णय गरेको थियो ।

आगामी एसियाडको उद्घाटन समारोहअघि हाङझाउमै हुने ‘टर्च र्‍याली’ मा नेपालबाट एसियाली खेलकुदमा कांस्य पदक जित्ने बक्सिङका दीपक महर्जनलाई सहभागी गराइँदै छ । टर्च र्‍यालीमा एसियाडमा सहभागी हुने सबै राष्ट्रका प्रतिनिधिको उपस्थिति रहने छ । दीपक महर्जन हाल हाङ्झाउ एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षकमध्येका एक हुन् ।

यसअघि चीनमै भएको १६औँ एसियाली खेलकुदमा नेपाललाई एकमात्र पदक दीपक महर्जनले दिलाउनु भएको थियो ।

प्रतियोगितामा ४५ राष्ट्रका खेलाडीले भाग लिनेछन् । ओसीएमा हाल ४५ वटा राष्ट्र सदस्यका रूपमा रहेका छन् । यसअघि एसियाली खेलकुदको १८औँ संस्करणमा सर्वाधिक ११ हजार तीन सय जना खेलाडीले सहभागिता जनाएका थिए । १८औँ एसियाली खेलकुद प्रतियोगिता सन् २०१८ मा इन्डोनेसियाको जाकर्ता र पालेम्बाङमा भएको थियो ।

नेपालले पहिलो संस्करणदेखि नै एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ मा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भएको थियो । पहिलो संस्करणमा नेपालले अफिसियलसहित नौ जनालाई सहभागी गराएको थियो । पहिलो संस्करणमा नेपालले एथलेटिक्स खेलमा मात्र खेलाडी सहभागी गराएको थियो ।

प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्