फिफा विश्वकप छनोट : नेपालले लाओससँग खेल्ने


 


काठमाडौं, साउन ११ । सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि भएको एसियाली छनोटको प्लेअफ चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा भएको ड्रमा नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने भएको छ । अक्टोबरमा हुने दुई लेगको छनोटपछि नेपालको भविष्यको टुंगो लाग्नेछ । पहिलो लेग अक्टोबर १२ र दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ ।

दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोली सहित कुल ३६ टोलीलाई ४÷४ टोलीको ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरणमा खेल्नेछन् ।

प्रारम्भिक प्लेअफमा सहभागी टोलीलाई दुई पटमा विभाजन गरिएको थियो । पट १ मा २७ देखि ३६ स्थानको टोली छन् भने पट २ मा ३७ देखि ४६ स्थानका टोली हुनेछन् । पट १ का टोलीले पट २ को टोलीको सामना गर्दैछन् ।

प्लेअफका अन्य खेल ः
अफगानिस्तान विरुद्ध मंगोलिया
माल्दिभ्स विरुद्ध बंगलादेश
सिंगापुर विरुद्ध गुआम
यमन विरुद्ध श्रीलंका
म्यानमार विरुद्ध मकाउ
कम्बोडिया विरुद्ध पाकिस्तान
चाइनिज ताइपेइ विरुद्ध टिमोर लिस्टे
इन्डोनेसिया विरुद्ध ब्रुनाई
हङकङ विरुद्ध भुटान
नेपाल विरुद्ध लाओस

प्रकाशित मिति: ११ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्