नेपाली टोली श्रीलंकाको स्थानीय टोलीसंग ६ विकेटले पराजित
काठमाडौं, साउन १० । अभ्यास खेलका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टोली त्यहाँको एक स्थानीय टोलीसंग ६ विकेटले पराजित भएको छ ।
आज पहिलो अभ्यास खेलमा नेपालले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भएको हो ।
ब्लूमफिल्डकै मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल ४३.४ ओभरमा १९७ रन बनाउँदै अलआउट भयो । नेपालले दिएको १९८ रनको लक्ष्य ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।
ब्लूमफिल्डका लागि हसिता बोयागोडाले ५३ बलमा ७ चौका र ७ छक्कासहित ९० रनको आक्रमक इनिङ खेले । उनी प्रतिश जि।सीको बलमा अर्जुन साउदबाट क्याच आउट भए ।
ओपनर सानदुन विराकोडी २२ बलमा ५ चौका र १ छक्कासहित ३१ र असिथा वानिनायाके १ रनमा आउट भए । अशान फेनान्डो ५४ बलमा ६ चौका र २ छक्कासहित ५६ रनमा अविजित रहे ।
नेपालका स्पिनर सूर्य तामाङले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । प्रतिश जि।सीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुन साउद बाहेक कुनैपनि ब्याटरको प्रदर्शन सन्तोषजनक रहेन । साउदले १ सय १३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए । आजको खेलमा देव खनाल र विकेटकिपर अर्जुन साउद ओपनर जोडी बनेका थिए ।
ओपनर देव खनाल ३४ बलमा २२ रन बनाए । पहिलो विकेटका लागि देव खनाल र अर्जुन साउदले ३८ रनको साझेदारी बनाएका थिए । तेस्रो क्रममा आएका बाँया हाते ब्याटर गुल्सन झाले अर्जुनसँग ३७ रनको साझेदारी बनाए । उनले २५ बलमा ९ रन मात्रै जोडे ।
सन्दीप जोरा २७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । त्यसपछिका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल मल्ल ३, पवन सरार्फ १०, सोमपाल कामी ११, प्रतिश जि।सी १६ र करण केसी ११ रनमा आउट भए ।
ब्लूमफिल्डका मलिन्डा परेरा, दिनेश समराविक्रमा, निमेश थारुणु र विनिनायाकेले समान दुई विकेट लिए । नेपालले दोस्रो अभ्यास खेल शुक्रबार तमिल युनियनसँग खेल्नेछ । नेपालका लागि आजको खेलमा सोमपाल कामीले टिमको कप्तानी सम्हालेका थिए ।
प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार