टेस्ट टोलीसँग टियुमा सिरिज खेल्ने नेपालको तयारी


 


काठमाडौं, साउन ९ । नेपाल क्रिकेट संघ (क्यान) ले आगमी असोज (अक्टोबर) मा नेपालमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि टेस्ट टोलीसँग सिरिज खेल्ने तयारी गरेको छ ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले विश्वकप छनोट अघि टियुमा नेपालले सिरिज खेल्ने तयारी गरेको हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

‘हामीले टि२० विश्वकपको लागि मैदानको तयारी गरेका छौं । आइसिसीले मैदानको फोटो पठाउन भनेको छ । हामीले मुलपानी माथिल्लो मैदानमा काम गरेका छौं । अहिले पानीले गर्दा धेरै काम गर्न सकिने अवस्था छैन’, पाठकले विश्वकप छनोटको तयारी बारे हाम्रो खेलकुदसँग भने ।

नेपालले पछिल्लो एक वर्षदेखी लगातार ओडिआई खेल खेल्दै आएको छ । त्यसैले टि२० शैलीमा आउन कठिन पर्नसक्छ । त्यसैले क्यानले एउटा सिरिज गर्ने तयारी गरेको बताउँछन् ।

‘हामी एउटा सिरिज गर्दै छौं । एउटा कुनै टेस्ट टोली बोलाएर नै टियुमा सिरिज खेल्छौं । त्यसको लागि जिम्बावे र वेस्टइन्डिजसँग कुरा भएको छ । श्रीलंका, बंगलादेश, पाकिस्तानसँग कुरा गरेका छौं । जिम्बावेले सिनियर टोली नै पठाउने हामीलाई बताएको छ’, पाठकले हाम्रो खेलकुदसँग भने ।

पाठक उनीहरुको पनि तालिका मिलेपछि कुन टोली आउने बताउँछन् । ‘जिम्बावे र वेस्टइन्डिज नेपाल आउन तयार छन् । तर कहिले आउने भन्ने उनीहरुको पनि तालिका मिल्नुपर्यो । तत्काल हामी भ्याउदैनौं । हाम्रो टोली ब्यस्त छ’, उनले भने ।

नेपालले भदौंपछि मात्रै सिरिज खेल्नेछ । भदौंसम्म वर्षाको कारण खेल्न कठिन पर्दछ । विश्वकप छनोट नेपालमा हुँदा विदेशी भूमिमा खेलेर काम पनि हुँदैन । नेपालले विश्वकप छनोट असोज १४ देखी २३ सम्म गर्ने क्यानले दाबी गरेको छ । आइसिसीले हालसम्म औपचारिक रुपमा जानकारी भने दिएको छैन ।

विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल, हङकङ, युएई, ओमान, सिंगापुर, बहराइन र क्वालिफायर ए र बी बाट आउने दुई टोली हुनेछन् । एसिया छनोट ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् । एसिया छनोट बी मा भुटान, चीन, मलेसिया, म्यानमार र थाईल्यान्डछन् । क्वालिफायर ए र बी का विजेता टोली एसिया क्षेत्रमा नेपालसहित ६ टोलीसँग खेल्नेछन् ।

८ टोली सहभागी प्रतियोगिताबाट शीर्ष दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । सम्भव त ८ टोलीलाई आइसिसीले दुई समूहमा विभाजन गर्दै सेमिफाइनल हुँदै फाइनल खेलाउनेछ । युरोप छनोटमा ७ टोली सिंगल राउन्ड रोविनमा खेलाएको छ । त्यसैले सिंगल राउन्ड रोविनमा पनि हुनसक्ने सम्भावना रहन्छ ।

नेपालले टि२० विश्वकप छनोटलाई ध्यानमा राख्दै विकेटकिपर विनोद भण्डारी, अलराउन्डर विवेक यादव र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई भारतका एकेडेमीमा अभ्यास गर्न यसै साता पठाउने तयारी समेत गरेको छ ।

प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्