जापानमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान
काठमाडौं, साउन ८ । जापानको फुकुओकामा जारी ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप—२०२३’ मा नेपाली खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । गौरिकाले प्रतियोगिताको एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
ओलम्पियन गौरिकाले निर्धारित दूरी एक मिनेट ०.८० सेकेन्डमा पूरा गरिन् । कूल ६१ खेलाडीको सहभागिता रहेको हिट चरणमा गौरिका ५१ औं स्थानमा रहिन् । यसअघि पनि उक्त कीर्तिमान गौरिकाकै नाममा रहेको थियो ।
उनले सन् २०१६ मा भारतको हुवाहाटी सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा निर्धारित दूरी एक मिनेट ०७.३१ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् । हाल जापानमा जारी वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिकाले सोही कीर्तिमान तोडेकी हुन् ।
यसअघि आइतबार नासिर याह्या हुसेनले पनि ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप—२०२३’ मा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । नासिरले पुरुष चार सय मिटिर फ्रिस्टायल स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार