गोली हानेर मेयरको हत्या
एजेन्सी । दक्षिण अमेरिकी मुलुक इक्वेडरमा एक जना मेयरको गोली हानी हत्या गरिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार प्रशान्त महासागरको छेउमा रहेको मान्टा सहरका मेयर ३८ वर्षीय अगस्टिन इन्ट्रिआगोको आइतबार गोली हानी हत्या गरिएको हो।
केही सार्वजनिक कामको निरीक्षणका क्रममा हरेका बेला उनीमाथि गोली हानिएको थियो । इन्ट्रिआगो गत फेब्रुअरीमा मान्टा सहरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।
एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। आक्रमणमा ती महिलाको पनि मृत्यु भएको छ।
मेयरका सुरक्षाकर्मीले जवाफी कारबाही गर्दा गोली लागेर आक्रमणकारी पनि घाइते भएका छन्। आक्रमणकारी भेनेजुयलाका नागरिक रहेको बताइएको छ । मेयर इन्ट्रिआगोमाथि गोली हान्नुको कारण खुलिसकेको छैन।
प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार