समुद्री आँधी ‘टलिम’ चीनको ग्वानदोङ प्रान्तको दक्षिणी तटमा ठोक्कियो


 


बेइजिङ । शक्तिशाली समुद्री आँधी ‘टलिम’ चीनको ग्वानदोङ प्रान्तको दक्षिणी तटमा ठोक्किएको छ ।

सोमबार राति साढे १० बजेतिर ठोक्किएको सो आँधीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै करिब दुई लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

करिब १४० किलोमिटर प्रतिघण्टा हावाको वेगका साथ दक्षिणी तटमा ठोक्किएको आँधी प्रशान्त महासागरमा आएको यो वर्षको चौथो र चिनियाँ तटमा ठोक्किएको पहिलो समुद्री आँधी हो ।

समुद्री आँधीसँगै तटीय क्षेत्रमा ठुल्ठूला छाल आउनुका साथै तीव्र वेगको हावा र भारी वर्षा भएको छ । वर्षाका कारण सो क्षेत्रमा हवाई उडान र रेल सेवा रद्द गरिएका छन् । स्थानीय अधिकारीले तटीय क्षेत्रका दर्जनौं पर्यटकीय स्थल बन्द गर्न आदेश दिएका छन् ।

शक्तिशाली समुद्री आँधी ‘टलिम’ले पुर्याउन सक्ने क्षतिलाई ध्यानमा राख्दै छिमेकी भिएतनामले पनि तटीय क्षेत्रका करीब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।

सो समुद्री आँधी त्यहाँबाट ग्वाङसी क्षेत्रतर्फ लाग्ने र मंगलबार दोस्रो अवतरण गर्न सक्ने चिनियाँ मौसम केन्द्रले जनाएको छ । ‘टलिम’ आँधीका कारण दक्षिणी हेनान प्रान्तको तटीय क्षेत्रमा ६ मिटर अग्लो छाल आउन सक्ने स्थानीय मौसम विभागले प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्