कुशल भुर्तेलको ६ विकेटसँगै नेपाललाई सामान्य लक्ष्य


 


काठमाडौं, साउन ३ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा लेग स्पिनर कुशल भुर्तेलले ६ विकेट लिएपछि युएई ए ले नेपाललाई १ सय ५८ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४४ ओभरमा १ सय ५७ रनमा अल आउट भयो ।

युएईका ओपनर लवप्रीत सिंहले ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएई ए लाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर सर्वाधिक ६ विकेट लिए ।

युएईलाई ओपनर अर्यांश शर्मा र लवप्रीत सिंहले पहिलो विकेटका लागि १०।४ ओभरमा ३९ रनको साझेदारी गरेका थिए । स्पिनर कुशल मल्लको बलमा अर्यांश शर्मा १४ रनमा पवन सरार्फबाट क्याच आउट भए । पवन सराफले अंश टन्डनलाई ३ रनमा एलबीडब्लू आउट गरे । लवप्रीत र एथान डि सोल्झाले ४४ रनको साझेदारी गरेका थिए ।

लेग स्पिनर कुशल भुर्तेलको बलमा स्वीप खेल्ने धुनमा सोल्झा १८ रनमा एलबीडब्लू आउट भए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । युएईका ओपनर लवप्रीत सिंह ८२ बलमा ६ चौका र १ छक्कासहित ५२ रनमा क्याच आउट भए । लेगस्पिनर कुशल भुर्तेलको बलमा उनी डीप मिडविकेटबाट सन्दीप जोराबाट क्याच आउट भए ।

कुशल भुर्तेलको फवाद नवाज ४ रनमा विकेटकिपर स्टम्पिङ आउट भए । विकेटकिपर अर्जुन साउदले उत्कृष्ट स्टम्पिङ आउट गर्दै पेभेलिएन फर्काएका थिए । त्यसपछि नेपाल खेलमा हाबी बनेको थियो । कुशल भुर्तेलकै बलमा कप्तान तथा प्रमुख ब्याटर अली नासिर एक रनमा कट एण्ड बोल्ड आउट भएपछि युएई संकटमा पुगेको छ ।

कुशलले कुनैपनि खेलमा आफ्नो क्रिकेट करिअरमा ६ विकेट लिएका हुन् । अर्का स्पिनर मौसम ढकालले ९ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ र कुशल मल्लले समान एक विकेट लिए ।

प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्