चिनियाँ विदेशमन्त्री छिन काङ ‘गर्लफ्रेन्ड लिएर भागेको’ हल्ला


 


एजेन्सी । कूटनीतिक गतिविधिहरु बढिरहेको समयमा चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातादेखि सार्वजनिक कार्यक्रमहरूमा नदेखिएपछि विभिन्‍न अड्कलबाजीहरु भइरहेका छन्।

गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन्। चिनियाँ राष्ट्रपति सी जिन पिङका विश्वासपात्र मानिएका काङले जुलाई पहिलो साता युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठाएपछि बोरेलको बेइजिङ भ्रमण रद्द भयो।

गत साता इन्डोनेसियाको जाकार्तामा भएको दक्षिण-पूर्वी एसियाली मुलुकहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकमा पनि काङ सहभागी भएनन्। उनको साटो उक्त बैठकमा चीनका अर्का कूटनीतिज्ञ वाङ यीलाई पठाइएको थियो। वाङ यी गत डिसेम्बरसम्म चीनका विदेश मन्त्री थिए।

यसअघि स्वास्थ्य अवस्थाका कारण आसियानको बैठकमा सहभागी नभएको बताइएको थियो। गत मंगलबार भएको चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ‘स्वास्थ्यका कारण काङ इन्डोनेसिया जान नसकेको’ बताएका थिए। तर, सोमबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा भने चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले ‘यसबारे तपाईंलाई दिन मसँग कुनै सूचना छैन’ भनेकी थिइन्। उनले चिनियाँ विदेश मन्त्रालयका गतिविधि पनि सामान्य रूपले चलिरहेको बताइन्।

विदेश मन्त्री काङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि स्वास्थ्यबाहेक अरू कारणबारे पनि चर्चा हुन थालेको छ। चीनबाहिर रहेका विश्लषेकहरूले एक जना टेलिभिजन प्रस्तोतासँग काङको सम्बन्ध पनि यो घटनाको कारण हुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

जापानी सञ्‍चारमाध्यम कोयदो न्युजले ‘अतिरिक्त वैवाहिक सम्बन्ध’का कारण उनी सार्वजनिक कार्यक्रममा नदेखिएको उल्लेख गरेको छ। उनी हङकङमा रहेको फोनिक्स टिभीकी चर्चित प्रस्तोतासँग उनको सम्बन्ध रहेको ताइवान मिडियालाई उदृत गर्दै कोयदोले जनाएको छ।

यसअघि सामाजिक सञ्‍जाल ट्विटरमा विदेशमन्त्री छिन काङ र ती महिना पत्रकारको फोटो र भिडियोहरु सार्वजनिक भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टिकरण पनि माग गरेको थियो।

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना नेताहरू लामो समयसम्म सार्वजनिक रूपमा नदेखिँदा पनि त्यसबारे यथार्थ विवरणहरू सार्वजनिक गर्ने गरेको छैन। यसअघि पनि चिनियाँ राष्ट्रपति सी जिन पिङ एक महिनासम्म सार्वजनिक रुपमा देखिएका थिएनन्। उनी सार्वजनिक नहुनुको कारण पनि खुलाइएको थिएन।

प्रकाशित मिति: २ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्