चीनले जति बेला पनि आक्रमण गर्न सक्ने भन्दै ताइवानले लगातार गरिरहेछ युद्ध अभ्यास


 


एजेन्सी । आगामी जनवरीमा ताइवानमा राष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिको निर्वाचनमा वर्तमान उपराष्ट्रपति विलियम लाईले सत्ताधारी दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको तर्फबाट उम्मेदवारी दिने चर्चा चलिरहेको छ ।

डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीलाई चीनले आफूविरोधी पार्टी र चीनबाट ताइवान अलग गराउन चाहने पार्टीको रूपमा हेर्दै आएको छ । वर्तमान उपराष्ट्रपति र राष्ट्रपतिका सम्भावित उम्मेदवार विलियम लाईले चाँडै अमेरिका भ्रमण गर्ने चर्चा चलिरहेको छ ।

यो विषयबाट चीन भने रुष्ट बनेको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सोमबार आफूहरूले विलियमको अमेरिका भ्रमणबारे अमेरिकामा कूटनीतिक उजुरी दर्ता गराएको बताएकी छिन् । तर, ताइवानले भने उनले ट्रान्जिटका क्रममा मात्र अमेरिकाको भूमि टेक्ने बताइरहेको छ ।

ताइवानकी राष्ट्रपति साई इङ–वेन गत मार्च महिनामा अमेरिकाको भ्रमण गरेपछि चीनले ताइवानलाई घेरेरै युद्ध अभ्यास गर्न थालेको थियो । चिनियाँ चेतावनी बाबजुद साईले अमेरिकी सभामुख केभिन म्याकर्थीलाई भेटेकी थिइन् । म्याकार्थीले त्यसबेला अमेरिकाले ताइवानलाई हतियार बेच्न जारी राख्ने प्रतिक्रिया दिएका थिए ।

त्यतिबेला चीनले एउटा एनिमेसन भिडियो सार्वजनिक गर्दै ताइवानलाई आक्रमण गरेर कब्जा गर्ने संकेत दिएको थियो । त्यसयता ताइवानले चीनबाट जतिबेला पनि आक्रमण हुन सक्ने भन्दै लगातार युद्ध अभ्यास गरिरहेको छ । ताइवानले अमेरिकाबाट शक्तिशाली हतियारहरू खरिद गरिरहेको अवस्था छ ।

चीनले ताइवानलाई आफूबाट अलग भएको टापु ठान्छ । यद्यपि, ताइवानले आफू एक सार्वभौम राष्ट्र भएको बताउँछ । ताइवानसँग व्यापारिकसँगै राजनीतिक सम्बन्ध राख्दा तेस्रो राष्ट्रले आफूसँग अनुमति लिनुपर्ने चीनको भनाइ छ । औपचारिक रूपमा अमेरिकाले ‘एक चीन नीति’को पालना गर्छ तर उसले चीनले प्रान्त मान्ने ताइवानलाई हतियार बेचिरहेको छ ।

उता अमेरिकी हतियार पाएको ताइवानले चीनको ‘एक देश दुई प्रणाली’ आफ्नो देशमा लागू नहुने निरन्तर रूपमा बताइरहेको छ । केही वर्षयता ताइवान र चीनबीच युद्धको अवस्था नै निम्तिएको छ । चीनले ताइवानमा कुनै पनि बेला आक्रमण गर्न सक्ने अनुमान गरिएको छ । किनभने चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई आक्रमण गरेर कब्जा गर्ने बताउँदै आएका छन् । रोयटर्सको सहयोगमा

प्रकाशित मिति: २ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्