दर्शक कुट्ने भलिबल खेलाडीलाई कारबाही, ६ महिनाको प्रतिबन्ध


 


काठमाडौं, असार ३१ । नेपाल भलिबल संघले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई ६ महिनाको प्रतिबन्ध गरेको छ ।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका धनबहादुर भट्टलगायतका खेलाडीले दर्शक कुटेका थिए ।

दर्शकमाथि हातपात तथा खेलका क्रममा अनुशासनहीन गतिविधि गरेको भन्दै संघले क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिना को प्रतिबन्ध लगाएको छ । उनीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेको छानबिन समितिका संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।

छानबिनका लागि गठन गरिएको ५ सदस्यीय समितिको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले कारबाहीकव् निर्णय गरेको संघका महासचिवसमेत रहेका श्रेष्ठले जानकारी दिए ।

आर्मीकै ब्लकर रहेका दुर्गा खड्कालाई भने आगामी दिनमा यस्तो कार्य नदोहोर्‍याउने गरी चेतावनी दिएर छोडिएको श्रेष्ठले जानकारी दिए । दुर्गाले प्रतियोगितामा उत्कृष्ट ब्लकरको उपाधि पनि जितेका थिए ।

आर्मीका कप्तानसमेत रहेका हरिहजुर थपालाई राष्ट्रिय टिमको कप्तानबाटसमेत बर्खास्त गरिएको छ ।

विवादित खेलको रेफ्रीको मुख्य भूमिकामा रहेका चित्र जंग गुरुङ र दोस्रो रेफ्रि (सेकेन्ड रेफ्री) अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरिएको छ ।

प्रकाशित मिति: ३१ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्