अभिषेक बच्चन अब राजनीतिमा, आगामी चुनाव लड्ने
मुम्बई । बलिउड अभिनेता अभिषेक बच्चन पनि अब राजनीतिमा लाग्ने भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार अभिषेक चाँडै नै आफ्ना आमाबुवाको पाइला पछ्याउँदै राजनीतिमा प्रवेश गर्न लागेका हुन् । उनी चाँडै अखिलेश यादवको समाजवादी पार्टीमा प्रवेश गर्न लागेका छन् ।
सन् २०२४ मा हुने चुनावमा प्रयागराजबाट चुनाव लड्ने योजना उनको छ । उनले बुबा अभिताभ बच्चन जस्तै प्रयागराजबाट चुनाव लड्नेछन् । तर अहिलेसम्म अभिषेक बच्चन र समाजवादी पार्टीले यसबारे कुनै घोषणा गरेका छैनन् ।
बिग बीले अभिनयबाट ब्रेक लिएर केही समय राजनीतिमा प्रवेश गरेका थिए । उनले १९८४ मा लोकसभा चुनाव जिते तर जुलाई १९८७ मा राजीनामा दिए।
यसैगरी आमा जया बच्चनले पहिलो पटक सन् २००४–२००६ मा सांसद चुनिएकी थिइन् । त्यसपछि सन् २०१८ मा उनी राज्यसभा सदस्य भइन् ।
अभिषेक बच्चन राजनीतिमा प्रवेश गर्ने चर्चा लामो समयदेखि चलिरहेको थियो । सन् २०१३ मा दिएको अन्तर्वार्तामा अभिषेकले राजनीतिक करियरको बारेमा कुरा गरेका थिए ।
प्रकाशित मिति: ३१ असार २०८०, आइतबार