छात्रबृत्ति नबुझाउने विद्यालयलाई १ लाख जरिवाना


 


सुनसरी, असार ३० । सुनसरीको इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराउने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाको बैठकले छात्रवृत्ति विवरण नबुझाउने १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो । जसमा १० वटा आधारभूत र ५ वटा माध्यमिक विद्यालय रहेका छन् । बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।

छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालयमध्ये वडा नम्बर ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नम्बर १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोडिङ् स्कुल,वडा नम्बर ९ मा सञ्चालित पोल्सान मन्टेश्वरी स्कुल,वडा नम्बर १४ को सृजना किण्डर गार्टेन मन्टेश्वरी र वडा नम्बर ५ को हेप्पील्याण्ड चाईल्ड डे कियर छन् ।

यस्तै,आधारभूत तहकै वडा नम्बर २० को इन्द्रेणी स्कुल,वडा नम्बर १० मा सञ्चालित इटहरी नमुना स्कुल,वडा नम्बर १ मा सञ्चालित सुनाखरी विद्या मन्दिर र वडा नम्बर १६ को जानकी मन्टेश्वरी स्कुलले पनि छात्रवृत्ति विवरण बुझाएका छैनन् । यी विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको छ ।

यस्तै, माध्यमिक विद्यालयतर्फ वडा नम्बर १७ मा सञ्चालित गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, वडा नम्बर ६ को इटहरी चिल्ड्रेन स्कुल, वडा नम्बर ४ को इटहरी मोडल सेकेण्डरी स्कुलले पनि छात्रबृत्ति विवरण बुझाएका छैनन् ।

वडा नम्बर ६ को ह्वाइट सोल एकेडेमी र इटहरी वडा नम्बर २ को लिटिल केयर बोडिङ् स्कुललाई १ लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको शाखाले जनाएको छ । नगरप्रमुख हेमकर्ण पौडेलले छात्रवृत्ति दिन चासो नदिने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्न पत्राचार गर्ने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति: ३० असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्