दिर्घरोगीलाई घरदैलोमै पुगेर निःशुल्क औषधी
दार्चुला, असार २९ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले दिर्घरोगीहरूलाई घरमै गएर निःशुल्क औषधी वितरण गर्न थालेको छ ।
दिर्घरोगीहरूको घरदैलोमै एमबीबीएस डाक्टरसहितको टिमले निःशुल्क औषधी वितरण गर्न थालेको गाउँपालिकाले जनाएको छ ।
दम, क्षयरोग, उच्च रक्तचाप, सुगर, छारे रोग लगायत विभिन्न रोगका बिरामीहरूलाई लक्षित गरेर यो कार्यक्रम अगाडि बढाइएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिए ।
आज (शुक्रवार) गाउँपालिकाको वडा नम्बर ४ अन्तर्गत हुनैनाथ स्वास्थ्य चौकी मार्फत औषधी वितरण गरिएको छ । जसबाट २६ जना दिर्घरोगीहरूले सेवा लिएको बताए ।
गाउँपालिकाभित्र औषधी पसल नहुँदा बिरामीहरू औषधि लिन सदरमुकाम जानुपर्ने बाध्यता छ । उक्त समस्यालाई मध्यनजर गर्दै जनताको घरदैलोमै औषधी पुर्याउने कार्यक्रम अघि सारेको पालिका डाक्टर निराजन बोहराले बताए ।
प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार