चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारी इमेलमा आक्रमण गरेको खुलासा


 


काठमाडौं । गत महिना अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनको बहुप्रतिक्षित चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ सरकार समर्थित ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतका निकायहरूको इमेल ह्याक गरेको खुलासा भएको छ ।

माइक्रोसफ्टको क्लाउड-बीआरडी नामक सुरक्षा प्रोटोकलको प्रयोग गरी एकदमै चलाखीपूर्वक र लक्षित तरिकाले उक्त आक्रमण गरिएको पाइएको छ ।

विशेषगरी चीनसँगको व्यापार तथा कूटनीतिक सम्बन्धसँग सम्बन्धित विभिन्न व्यक्ति तथा सरकारी निकायलाई निसाना बनाइएको अमेरिकी सरकारी अधिकारीहरूले जनाएका छन् ।

वासिङटन पोस्टका अनुसार ह्याकरहरूले अमेरिकी वाणिज्यमन्त्री जिना रमान्डोको समेत इमेल ह्याक गरेका थिए । अमेरिकी सरकारले चिनियाँ सरकार र प्रविधि कम्पनीहरूको अत्याधुनिक सेमिकन्डक्टर चिप आयातमा अंकुश लगाउने र अमेरिकी घरेलु सेमिकन्डक्टर चिपहरूको उत्पादन बढाउने चर्चित चिप ऐनको प्रस्तावक र प्रवर्द्धक हुन्- रमान्डो ।

सो आक्रमणमा ह्याकरहरूले क्लासिफाइड भनिने अमेरिकी अति गोप्य दस्तावेज र इमेलहरूमा पहुँच भने पाउन नसकेको तथा अमेरिकी सैन्य र रक्षासम्बन्धी निकायहरूमा आक्रमण नभएको अमेरिकी सरकारी अधिकारीहरूको स्पष्टोक्ति छ ।

सो आक्रमणको खुलासा माइक्रोसफ्टले मंगलबार सार्वजनिक भएको आफ्नो ब्लगमा गरेको थियो । स्टर्म-०५५८ भनिने सो ह्याकर समूहले लगभग २५ वटा विभिन्न अमेरिकी निकायहरूको इमेलमा पहुँच बनाएको र आफूहरूले झन्डै एक महिनाअघि थाहा पाउनेबित्तिकै सम्बन्धित निकायहरूलाई सचेत गराइसकेको कम्पनीको दाबी छ ।

लण्डनस्थित चिनियाँ दूतावासले भने यसलाई ‘मिथ्या सूचना’ भएको बताएको छ भने अमेरिकी सरकारलाई ‘विश्वकै ठूलो ह्याकिङ साम्राज्य’ भनेको छ ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्