पत्रकार कर्ण बाेहराकाे निधन
काठमाडाैं, मंसिर १०
पत्रकार कर्ण बाेहराकाे निधन भएकाे छ । सुदूरपश्चिमका चर्चित पत्रकार बोहराको ३६ वर्षको उमेरमा शुक्रबार निधन भएको हाे । विगत एक वर्षदेखि राजधानीको भेनस इन्टरनेशनल हस्पिटलमा श्रीमतीको उपचार गराउँदै आएका बोहरा शुक्रबार दिउँसो अस्पतालको बेडमा मृत अवस्थामा फेला परेका हुन् ।
अस्पताल पुगेका पत्रकार दीपक ओलीका अनुसार श्रीमतीको कुरुवा रहेका बोहरा शुक्रबार दिउँसो १ बजे श्रीमतीको बेडनजिकैको अर्काे बेडमा सुतेका थिए र तीन बजे डाक्टर पुग्दा मृत भेटिएका थिए । बोहराको निधनको कारण खुल्न सकेको छैन् ।
बोहराको घरबाट आफन्त आएपछि शनिबार दाहसंस्कार गरिने पत्रकार ओलीले बताए । उनका अनुसार बोहराको निधनपछि उनकी श्रीमतीको अवस्था चिन्ताजनक छ । उनलाई आइसियुमा भर्ना गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष समेत रहेका बोहरा करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए । बझाङको स्याडी गाविस घर भएका बोहरा लामो समयदेखि कञ्चनपुरमा बसेर पत्रकारिता गर्दै आएका थिए ।
पत्रकार बोहराको निधनपछि सुदूरपश्चिमका पत्रकार, उद्योगी, व्यापारी तथा राजनीतिज्ञले गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा पत्रकार बोहराप्रति सबैले समवेदना व्यक्त गरिरहेका छन् ।
प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार