मःम खाने प्रतियोगिता आयोजना गर्दा झमेलामा फस्यो चिनियाँ रेस्टुरेन्ट


 


एजेन्सी, असार २७
सबैभन्दा धेरै मःम खाने प्रतियोगिता आयोजना गर्ने चीनको एक रेस्टुरेन्ट समस्यामा परेको छ । यो प्रतियोगिताका कारण चीनमा खाद्यान्नको बर्बादी रोक्न बनेको कानुनको उल्लंघन भएको मानिएपछि रेस्टुरेन्टबारे अहिले अनुसन्धान भइरहेको छ ।

प्रतियोगितामा सबैभन्दा कम समयमा १०८ वटा मसलाले भरिएको मःम खाने व्यक्तिलाई एकपटक नि:शुल्क खाना र ‘ठूलो पेटको राजा’ को उपाधि दिइने भनिएको थियो । तर यो भाइरल चुनौतीले मानिसहरूलाई भ्रमित पार्‍यो । जसका कारण मानिसहरूले चाहिनेभन्दा धेरै खाना अर्डर गरे तर खान सकेनन् र धेरै खाना खेर गयो ।

सन् २०२१ मा चीनमा खाद्यान्नको बर्बादी रोक्न कानुन ल्याइएको थियो । कानुन बनेको दुई वर्ष बितिसक्दा पनि यो ऐन कार्यान्वयन गर्न नागरिकले संघर्ष गरिरहेका छन् । चीनमा गरिएको एक सर्वेक्षणअनुसार देशका होटल र रेस्टुरेन्टमा हरेक वर्ष कम्तीमा ३ करोड ४० लाख टन खाना खेर जाने गरेकाे छ ।

गत वर्ष पनि फुजियान प्रान्तको एउटा रेस्टुरेन्टले आधा घण्टाभित्र ३० किलो बर्गर खाने चुनौती दिएको थियो । यो रेस्टुरेन्टविरुद्ध पनि अनुसन्धान भइरहेको छ। बीबीसी

प्रकाशित मिति: २७ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्