कांग्रेस केन्द्रीय समिति बैठक आजबाट, यी हुन् एजेन्डा


 


काठमाडौं, असार २७
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । अघिल्लो बैठकको ठिक एक वर्षपछि आज बैठक बस्न लागेको हो ।

विधानअनुसार कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने हो । तर, कहिले सत्ता राजनीति मिलाउन त कहिले पार्टी नेता बालकृष्ण खाँण भ्रष्टचार मुद्दामा फसेपछि मिति तोकेर पनि बैठक सर्दै आएको छ ।

बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर केन्द्रीय कमिटी बैठकका एजेन्डालाई अन्तिम रूप दिइनेछ । झन्डै एक वर्ष पछि बस्न लागेको बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने भएको छ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा पनि बैठकमा छलफल हुनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ । साथै, सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।

यस्तै बैठकले असार २१ र २२ गते बसेको जिल्ला सभापतिहरूको भेला र सदस्यताको विषय, पटकपटक भएका कार्यसम्पादन समिति बैठकका निर्णयहरूको अनुमोदन गर्नेछ ।

प्रकाशित मिति: २७ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्