बीआरआई परियोजनाअन्तर्गत हालसम्म कुनै योजना अघि बढेका छैनन् : परराष्ट्रमन्त्री साउद


 


काठमाडौं, असार २६
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म चीन सरकारको बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई) परियोजनाअन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताएका छन् । सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले अहिलेसम्म कुनै पनि कार्यक्रम सञ्चालनमा नआएको बताएका हुन् ।

चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको थियो । तर त्यसपछि बीआरआई अन्तर्गत कुनै पनि योजना नेपालमा अघि नबढेको सरकारले बताएको छ । तर पछिल्लो समय चिनियाँ राजदुत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गतको भएको दाबी गर्दै आएपछि नेपालमा बहसको विषय बनेको थियो ।

समितिको बैठकमा समिति सदस्यहरूले प्रश्न गरेसँगै परराष्ट्रमन्त्री साउदले बीआरआईअन्तर्गत हालसम्म कुनै योजना नेपालमा सुरु नभएको र कार्यान्वयनको सन्दर्भमा अहिले सरकार छलफलमा रहेको बताए ।

‘एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ । कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ । र एमसीसी एउटा ग्राण्ड भएको हुनाले कार्यान्वयनको चरणमा गइसकेको छ । बीआरआई नेपालमा २०१७ मा नेपालले चीन सरकारसँग एमओयु गरिसकेको छ, यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौँ । यो कार्यक्रमअन्तर्गत कुनै पनि योजना नेपालमा सुरु भएको छैन,’ उनले भने ।

परराष्ट्रमन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी अगस्ट महिनाबाट कार्यान्वयनको चरणमा जाने बताए ।

प्रकाशित मिति: २६ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्