राजदूत नियुक्ति कहिले ?


 


काठमाडौं, असार २६
सरकारले नेपाली राजदूत रिक्त रहेको मुलुकमा नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच भागबन्डा निमल्दा नियुक्ति सिफारिसमा अन्योलता देखिएको हो ।

यूएई, थाइल्यान्ड, कुवेत, क्यानडा र फ्रान्समा नेपाली राजदूत पद खाली छन् । त्यस्तै, युनाइटेड अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको कार्यकाल सकिएपछि स्वदेश फर्किसकेका छन् ।

त्यस्तै, क्यानडाका लागि राजदूत भृगु ढुंगाना, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र थाइल्यान्डका लागि राजदूत गणेशप्रसाद ढकालको चारवर्षे कार्यकाल सकिएर नेपाल फर्किसकेका छन् । यूएई र कुवेतमा राजदूत पद रिक्त भएको तीन महिना पूरा भएको छ ।

त्यस्तै, न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयको नियोगबाट अघिल्लो साता अमृतबहादुर राई फर्केसँगै राजदूत खाली भएको छ । ‘राजदूत एवं स्थायी प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका’अनुसार कार्यकाल सकिन तीन महिना बाँकी हुँदै सरकारले नयाँ राजदूत सिफारिस गर्नुपर्ने उल्लेख भए पनि नयाँ राजदूत नियुक्ति प्रक्रिया सुरु भएको छैन ।

नेपालका ३० मुलुकमा दूतावास र तीन संयुक्त राष्ट्रसंघीय स्थायी नियोग (न्युयोर्क, जेनेभा र भियना) छन् । यस्तै, विभिन्न मुलुकमा सात वाणिज्य दूतावास छन् । राजधानी दैनिकबाट

प्रकाशित मिति: २६ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्