रुस–युक्रेन युद्धमा हालसम्म साढे ३ लाख सैनिकको मृत्यु


 


एजेन्सी । युक्रेन र रुसबीच युद्धमा हालसम्म हालसम्म साढे तीन लाख सैनिकको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । दुई देशबीच शुरु भएको पाँच सय दिन पूरा हुँदा यो संख्यामा सैनिकको मृत्यु भएको हो ।

सन् २०२२ को फ्रेबुअरी २४ मा रुसले युक्रेनमाथि हमला गरेपछि शुरु भएको युद्ध त्यस यता निरन्तर चलिरहेको छ । युद्धका कारण ६३ लाखभन्दा धेरै युक्रेनी पलायन भएर विभिन्न देशमा शरणार्थी बनेका छन् ।

दोस्रो विश्वयुद्धपछि कुनै पनि देशबाट यति ठूलो संख्यामा मानिस पलायन भएको यो पहिलो घटना हो । शरणार्थी बन्नेहरुमा अधिकांश महिला र बालबालिका छन् । युक्रेनभित्रै पनि ६० लाख मानिस आफ्नो ठाउँबाट विस्थापित भएका छन् ।

१८ देखि ६० वर्ष उमेर समूहका पुरुषहरुलाई भने युक्रेन सरकारले युद्धमा लाग्न प्रोत्साहित गरिरहेको छ । युद्धबाट युक्रेनमा करीब दश हजार सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगको तथ्यांक छ । युद्धका कारण १५ हजार बढी सर्वसाधारण घाइते भएका छन् । तर युद्धमा मारिने सैनिकको संख्या भने भयावह छ । दुवैतर्फ गरी लाखौं सैनिक मारिएको अनुमान छ ।

बेलायती रक्षा मन्त्रालयले युद्धको पहिलो वर्ष मात्रै २ लाख बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । वाग्नर समूहका मात्रै ४० देखि ६० हजार लडाकुमा मारिएको दाबी छ । युद्धको पहिलो वर्ष १ लाख ३१ हजार युक्रेनी सैनिक मारिएको अमेरिकी तथ्यांक छ । तर यी तथ्यांकहरुको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

युद्धबाट युक्रेनमा एक सय ४३ अर्ब डलरको क्षति भएको किभ स्कुल अफ इकोनोमिक्सको अनुसन्धानले देखाएको छ । युद्धबाट रुसले युक्रेनको करीब २० प्रतिशत भूभाग कब्जा गरेको बताइएको छ ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्