सुर्ति सेवनले चीनमा बर्सेनि १० लाखको मृत्यु


 


बेइजिङ (बीबीसी) । चीनमा २० वर्षभन्दा कम उमेरको जनसंख्यामा धुम्रपानको आदत छुटाउन नसके अकाल मृत्युदर बढ्ने चेतावनी एक अध्ययनले दिएको छ। उक्त उमेरको एक तिहाइ संख्या धुम्रपानको लतमा रहेको पाइएको छ।

दि लेन्सेट मेडिकल जर्नलमा प्रकाशित अध्ययनको रिपोर्ट अनुसार चीनको दुई तिहाइ जनसंख्यामा यस्तो आदत छ, जुन २० वर्षको उमेर अगाडि नै शुरु हुन्छ। धुम्रपानको लत रहेको जनसंख्यामध्ये आधाको मृत्युको कारण सुर्ति प्रयोग नै हुने अध्ययनको निचोड छ। १५ वर्षसम्म मुलुकभर गरिएको अध्ययनमा लाखौं चिनियाँ नागरिकलाई समेटिएको थियो।

सन् २०१० मा करिब १० लाख जनाको मृत्युको कारण सुर्ति प्रयोग थियो। यदि हालको अवस्था कायम रहे सन् २०३० पछि हरेक वर्ष २० लाख मानिसको मृत्युको कारण धुम्रपान हुने प्रक्षेपण पनि प्रतिवेदनमा छ। तीमध्ये अधिकांश पुरुष हुने छन्, पुरुषमा अकाल मृत्युदर बर्सेनि बढ्दो छ। चिनियाँ पुरुषहरू मध्ये आधामा धुम्रपानको लत छ, महिलाको प्रतिशत २.४ मात्र छ।

चिनियाँ स्वास्थ्य विज्ञान प्रतिष्‍ठान र रोग नियन्त्रण केन्द्रको सहकार्यमा बेलायतस्थित अक्सफोर्ड विश्‍वविद्यालयका वैज्ञानिक उक्त अध्ययनमा सहभागी थिए। तीमध्येका एक रिचार्ड पेटोको भनाइमा मानिसलाई कुलत छाड्न मनाउन सके भविष्‍यको सम्भावित भयावह अवस्थाबाट पार पाउन सकिने छ। ‘मृत्युको भयावह अवस्थाबाट पार पाउने एक मात्र उपाय कुलत छाड्ने नै हो र युवाले छुँदै नछुनुको विकल्प छैन,’ उनले भने।

भयावह अवस्था
चीनको अधिकतर भागमा खाना सहजै उपलब्ध छ। खाना खाएर चपस्टिक बिसाएपछि मानिसहरू आफ्नो कुर्सी पछाडि धकेल्छन् र चुरोट सल्काउँछन्। यो एक आम आनीबानी हो। सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाउने सरकारी नियमले हरेक घरका भान्सासम्म पुग्न पाएको छैन। आपसमा सम्बन्ध बिस्तारको मेलो नै चुरोटको धुवाँ बनेको छ।

चुरोटका महँगा ब्रान्ड, पहेंलो घेराले आकर्षक रूपमा बाँधिएका प्याकेट उपहार आदानप्रदानका गतिला बस्तु हुन्। सामान्यस्तरका ब्रान्ड सर्वसाधारणको सहज पहुँचमा छन्, अढाइ युआनमा खरिद गर्न सकिन्छ। मुलुकभरको दैनिक जीवनमा धुम्रपानको लत बलियोसँग गाँसिएको छ। धेरै कम जनसंख्या मात्र यसको घातक असरबारे सचेत देखिन्छ। विश्‍व स्वास्थ्य संगठनका अनुसार चीनको २५ प्रतिशत जनसंख्यामा फोक्सोको क्यान्सरदेखि हृदयाघातसम्मको गम्भीर संक्रमण छ।

१० प्रतिशत जनसंख्याले मात्र आफूखुशी चुरोटको लत त्यागेको पाइन्छ, जुन आफैंमा आश्‍चर्यजनक नतिजा होइन। चुरोट छाडेको घोषणा गर्ने धेरै जनाले पुनः आदत थालेको पाइन्छ। विकसित देशमा धुम्रपानको लत धेरै कम भइसकेको छ। जस्तो- अमेरिकामा एकदेखि पाँच प्रतिशतले मात्र चुरोटलाई आदत बनाएका छन्। यद्यपि, चीनमा यो दर बढदो क्रममा छ, सहज उपलब्धता र उपभोक्ताको क्रयशक्तिमा बढोत्तरी त्यसको मुल कारण हो।

चीन विश्‍वमै सबैभन्दा धेरै चुरोटका उपभोक्ता रहेको देश हो। हरेक तीन जनामध्ये एकमा चुरोटको आदत छ। चीन विश्‍वमै बढी सुर्ति उत्पादक पनि हो। करिब ३० करोड जनाले सुर्ति सेवन गर्छन्, जुन कुल जनसंख्याको एक तिहाइ हो। हरेकले दैनिक औसत २२ खिल्ली प्रयोग गर्छन्। राजधानी बेइजिङमा सार्वजनिक स्थललाई धुम्रपान मुक्त बनाइएको छ। सरकार धुम्रपानको नकारात्मक असरबारे सचेत रहेको यसबाट देखिन्छ। यद्यपि, ‘आदत लोकप्रियता’ त्यसमा बाधक बनेको छ। सरकारी राजस्वको एक मुख्य स्रोत भएकाले पनि नियन्त्रण सहज बन्‍न नसकेको हो। सरकारले बर्सेनि ४ खर्ब २८ अर्ब युआन राजस्व सुर्ति उत्पादन र बिक्रीवापत प्राप्त गर्दै आएको छ। विश्‍व स्वास्थ्य संगठनका अनुसार विश्‍वव्यापी रूपमा सुर्ति सेवन गर्ने आधा जनसंख्याको अकाल मृत्यु हुने गरेको छ।

प्रकाशित मिति: २० असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्