एक दिनमै फिर्ता भयो तमीमको सन्न्यासको फैसला
ढाका, असार २३ । बंगलादेशको एकदिवसीय कप्तान तमीम इकबालले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने गरेको फैसला एकै दिनमा फिर्ता भएको छ । इकबालले बंगलादेशका प्रधानमन्त्री शेख हसीनाको आग्रहमा सन्न्यास फिर्ता लिएका हुन् ।
मिडिया रिपोर्टका अनुसार तमीमले शुक्रबार आफ्नो पत्नीसहित प्रधानमन्त्री हसीनासँग भेट गरेका थिए । उनीसँग बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजुमल हसन र टीमका पूर्वकप्तान मोसरफ मुर्तजना पनि थिए ।
अहिले अफगानिस्तानको टोली बंगलादेशको भ्रमणमा रहेको छ । बंगलादेशले तीन एकदिवसीय शृङ्खलाको पहिलो खेलमा पराजयको सामना गर्नुपरेको थियो । हारपछि तमीमको कप्तानीको आलोचना भइरहेको छ । यसैबीच तमीमले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै एकदिवसीयबाट सन्न्यासको घोषणा गरेका थिए ।
तमीमले सन् २००७ मा बंगलादेशको एकदिवसीय टोलीमा डेब्यू गरेका थिए । त्यही वर्ष एकदिवसीय विश्वकपमा अर्धशतक बनाउँदै भारतविरुद्ध टोलीलाई ऐतिहासिक जीत दिलाएका थिए ।
उनले एकदिवसीयमा १४ शतकसहित ८ हजार ३१३ रन बनाएका छन् । टी–२० मा उनले १ शतकसहित १ हजार ७५८ रन बनाएका छन् । उनले गत वर्ष टी–२० बाट सन्यास लिएका थिए । ७० टेस्ट खेल्दै उनले १० शतकसहित ३८.८९ को औसतले ५ हजार १३४ रन बनाएका छन् ।
तमीमले बंगलादेशका ३७ एकदिवसीय खेलमा कप्तानी गरेका छन् । जसमा उनले २१ खेलमा टोलीलाई जीत दिलाएका थिए । उनैको कप्तानीमा बंगलादेश यसपटक पनि विश्वकपमा छनोट भएको छ ।
प्रकाशित मिति: २३ असार २०८०, शनिबार