नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
काठमाडौं, असार २२ । नेपाली क्रिकेट टोली जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट खेलेर स्वदेश फर्किएको छ । क्रिकेट टोली शुक्रबार मध्यान्ह त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका थिए । विश्वकप छनोटमा नेपालले दुई जित र चार हार व्यहोर्दै १० राष्ट्र सहभागी प्रतियोगितामा आठौं बन्यो ।
सुपर ६ मा पुग्ने लक्ष्य बोकेर गएको नेपालले खेलेका ६ म्याचमध्ये ३ वटा म्याच टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध थिए । नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो ।
नेपाली टोली जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो ।
त्यसपछि नेपालले प्लेअफ खेलमा युएईलाई तीन विकेटले हराएको थियो भने सातौं स्थानको लागि भएको खेलमा आयरल्यान्डसँग दुई विकेटले पराजित भएपछि नेपाल आठौं बन्यो ।
जिम्बावेमा जारी विश्वकप छनोटमा श्रीलंका र नेदरल्यान्ड्सले भारतमा हुने विश्वकपमा स्थान बनाएका छन् ।
प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार