२४ करोड बढी रकम ठगेर व्यवसायी फरार, वडामा ४ सय ३७ जनाको उजुरी


 


बिर्तामोड, असार २२ । झापाको गौरादहका सुनचाँदी व्यवसायी करोडौं रकम ठगेर फरार भएका छन् ।

गौरादह–१ का सोमराज विश्वकर्मा २४ करोडभन्दा बढी रकम ठगेर फरार भएका हुन् । गौरादह–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको नाममा पत्र लेखेर उनी एक सातादेखि फरार छन् ।

बिहीबारसम्ममा उनीबाट ठगिएका ४ सय ३७ जनाले करिब २४ करोडभन्दा बढी ठगेको दाबी गरेर वडा कार्यालयमा निवेदन दिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । ‘हस्ताक्षर विनाको एउटा पत्र मेरो नाममा लेखेर मलाई म्यासेन्जरमा पठाइदिएर उनी सम्पर्कविहीन छन्,’ उनले भने, ‘पत्रमा मैले मेरो परिवार र सबै जायजेथा छाडेर हिँडेको छु । वाणिज्य सङ्घसँग बसेर वडाध्यक्षले हिसाब मिलाइदिनू भनेर लेखेका छन् ।’

उनका अनुसार अहिलेसम्म २४ करोड हाराहारीको दाबीसहित निवेदन परेको छ । एउटै व्यक्तिबाट ५० हजारदेखि ४० लाखसम्म ठगिएको पाइयो ।

विश्वकर्माले कोरोनाका कारण लकडाउन हुँदा र अहिलेको आर्थिक सङ्कटका कारण व्यवसाय गर्नै नसक्ने गरी डुबेको वडाध्यक्ष भण्डारीलाई लेखेको पत्रमा उल्लेख छ । उनले धेरै साहुलाई साँवाभन्दा ब्याज बढी तिरेको उक्त पत्रमा लेखेका छन् । १४ असारदेखि विश्वकर्मा परिवारको समेत सम्पर्कमा नरहेको वडाध्यक्ष भण्डारीले बताए ।

विश्वकर्माले महँगो ब्याजको लोभ देखाउँदै स्थानीयसँग ऋण लिएका थिए । लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका हुन् । पत्र लेखेर फरार रहेका विश्वकर्मालाई प्रहरीले खोजी गरिरहेको वडाध्यक्ष भण्डारीले बताए ।

पीडितले दिएको निवेदनका आधारमा गौरादह नगरपालिकाको न्यायिक समितिले पनि प्रक्रिया अघि बढाउने भएको छ । न्यायिक समितिका संयोजक तथा उपप्रमुख जलवर्षा राजवंशीले यसबारेमा सर्वदलीय बैठक पनि बसेको र शुक्रबार न्यायिक समितिको बैठक बसेर प्रक्रिया अघि बढाउने बताइन् ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्