एसइईको नतिजा प्रकाशन गर्न १९ संस्थाले पाए अनुमति
काठमाडौं, असार २० । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको हो । ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा उपलब्ध गराउने भएका हुन् ।
त्यसरी अनुमति पाएकामा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ ।
यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैङ्क, इडियु संजाल, कान्तिपुर पब्लिकेशन्स्, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था/फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् ।
नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका ५ वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् ।
बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रवार भित्रमा नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरेको जनाएको छ ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए ।
प्रकाशित मिति: २० असार २०८०, बुधबार