पहिरोले विद्यालय भवन पुरियो, पठनपाठनमा समस्या


 


पर्वत, असार २० । पर्वतमा पहिरोले कक्षाकोठा पुरिँदा एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ ।

पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुईवटा भवन पुरेपछि समस्या भएको हो ।

असार १४ गते राति आएको वर्षापछि गएको पहिरोले विद्यालयको तीन–तीनकोठे दुईवटा भवनमा क्षति पुर्‍याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिए । विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको उनको भनाइ छ ।

“अबिरल वर्षासँगै विद्यालयमा माथिबाट पहिरो खस्यो, उक्त दिन बिदा भएका कारण मानवीय क्षति भएन”, उनले भने । विद्यालयमा पहिरोले क्षति पु¥याएसँगै कक्षाकोठाको अभाव भएको उनको भनाइ छ ।

“अहिले तत्कालका लागि केही गर्न सक्ने अवस्था छैन”, उनले भने, “बर्खायाम भएकाले अझै क्षति हुने सम्भावना छ ।” उनले वर्षे बिदापछि कक्षा सञ्चालन हुने भएकाले वैकल्पिक कक्षाकोठाका लागि व्यवस्थापनमा समस्या हुने बताए ।

विद्यालयले जग्गा अभावका कारण दुई ठाउँमा कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्मको आधारभूत तह सञ्चालन भइरहेको छ ।

शर्माका अनुसार एउटा तीनकोठे भवन २०७५ सालमा ३१ लाख ५० हजारमा निर्माण गरिएको हो भने अर्को भवन २०७६ सालमा १६ लाख २० हजारमा २०७६ सालमा निर्माण गरिएको थियो ।

ठेकेदारको लापरबाहीका कारण विद्यालयमा क्षति पुगेको स्थानीयको भनाइ छ । सडक निर्माणका क्रममा ठेकेदारले विद्यालयमाथि जथाभावी माटो फालेका कारण विद्यालयमा क्षति भएको स्थानीय अभिभावक राजेन्द्र क्षेत्रीको आरोप छ ।

“शुक्रबार बिहान १० बजे सडकमाथिबाट झरेको पहिराले नाली पुरियो । उक्त पानी नाली हुँदै ग्यावियनभित्र छिरेपछि पहिरो गएको होे”, प्रत्यक्षदर्शी क्षेत्रीले भने, “ठेकेदारका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति भयो ।”

सडक निर्माणका क्रममा ठेकेदारको लापरवाहीका कारण विद्यालयमा क्षति पुगेको अभिभावकहरूको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर थापा मगरले सडक निर्माणका क्रममा प्राविधिक त्रुटी भएको आशंका व्यक्त गरे ।

सडक निर्माणका क्रममा हामीले ठेकेदार र प्राविधिकलाई विद्यालयमाथि माटो राख्दा समस्या हुन्छ भनेर बारबार अनुरोध गरेको भएपनि सुनुवाई नभएको उनको भनाइ छ ।

प्रकाशित मिति: २० असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्