नेपालसंग खेलेपछि आयरल्याण्डका कप्तानले दिए राजीनामा


 


काठमाडौं । आइसिसी एकदिवसीय विश्वकपमा नेपालसंग खेलेलगत्तै आयरल्याण्ड क्रिकेट टोलीका कप्तान एन्डी बालबर्नीले पदबाट राजीनामा दिएका छन् ।

जिम्बाब्वेमा जारी विश्वकप छनोटमा खराब प्रदर्शन गरेपछि बालबर्नीले सीमित ओभरको क्रिकेट (टी–२० र एकदिवसीय) को कप्तान पदबाट राजीनामा दिएका हुन् ।

प्रतियोगितामा सुपर सिक्समा पनि पुग्न नसकेको आयरल्याण्डले समूह चरणमा ओमान, स्कटल्याण्ड र श्रीलंकासँग हार बेहोर्दा यूएईलाई मात्र हराउन सक्यो । सुपर सिक्समा पुग्न असफल आयरल्याण्डले मंगलबार सातौं स्थानका लागि भएको खेलमा नेपाललाई २ विकेटले हराएको थियो ।

नेपालले दिएको २ सय ६९ रनको लक्ष्य पूरा गर्न आयरल्याण्डले ४९.२ ओभरमा ८ विकेट गुमाउनु परेको थियो । नेपालविरुद्धको खेललगत्तै आइरिस कप्तान बालबर्नीले राजीनामाको घोषणा गरेका हुन् ।

यद्यपि उनले टेस्ट टोलीको कप्तानबाट भने राजीनमा दिएका छैनन् । उनले राजीनामा दिएपछि तत्कालका लागि ओपनिङ ब्याटर पउल स्टर्लिङलाई कप्तानमा नियुक्त गरिएको छ ।

प्रकाशित मिति: २० असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्