संविधान संशोधन प्रकृयालाई अघि वढाउने सहमति


 


काठमाडौं, मंसिर ९

सत्तारूढ दल र मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच  भएको छलफलमा संविधान संशोधन प्रकृयालाई अघि वढाउने सहमति भएको छ ।

संशोधनका विषयबस्तुमा समान धारणा नबने पनि मोर्चाले सरकारलाई प्रस्ताव दर्ताका लागि बाटो खुला गरिदिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा दुई तीन दिन भित्रै संसदमा संविधान संशोधन प्रस्ताव लैजाने सहमति भएको हो ।

मुख्यगरी नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व, प्रदेश सिमांकन र भाषाको विषयमा संशोधन प्रस्तावमा लैजाने सहमति भएको नेताहरुले वताएका छन् ।

वैठकले प्रतिपक्षी दल नेकपा एमालेसंग पनि संविधान संशोधन प्रस्ताव दर्ता गरिसकेपछि सहमतिका लागि छलफल गर्ने निर्णय गरेको छ ।

वैठकपछि तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयश त्रिपाठीले सरकारले संशोधन प्रस्ताव दर्ता गर्ने र त्यसपछि थप छलफल हुने बताए ।

प्रस्ताव दर्तामा धेरै ढिलाई भइसकेको भन्दै उनले विषयबस्तुमा सहमतिको प्रयास जारी राखिने उल्लेख गरे ।

संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गराउनेबारे सहमतिको प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका थिए ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रलगायतका प्रमुख घटकका नेता तथा गठबन्धन दलका शीर्ष नेता सहभागी थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसअघि नै संविधान संशोधनको औचित्य नभएको भन्दै कांग्रेस र माओवादीले ल्याएको संशोधन प्रस्तावको मस्यौदा अस्वीकार गरिसकेको छ ।

 

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्