उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्किंदै
काठमाडौं, असार १७
जनवादी चीनको ५ दिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज आइतवार स्वदेश फर्किंदैछन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा उनीहरूबीच २ देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारे विचार–विमर्श भएको छ । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकाहरूमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जनाउँदै नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।
भ्रमणका दौरान उनले सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रममा नेपाल–चीन सम्बन्धका बारेमा सम्बोधन मन्तव्य दिएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेका थिए ।
यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा उनले छेन्दु–काठमाडौं रुटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान शुरू गर्न आग्रह गरेका थिए ।
छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठ सहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनर्निर्माण तथा भूकम्पीय संग्रहालयको अवलोकन गरेका थिए । नेपाली प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठ आइतवार साँझ छेन्दुस्थित महावाणिज्यदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी भए । उनी ७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधवार चीन आएका थिए । रासस
प्रकाशित मिति: १७ असार २०८०, आइतबार