चार पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोट चरणबाटै बाहिरियो
एजेन्सी । आइसिसी विश्वकप छनोट २०२३ मा चार पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोटचरणबाटै बाहिरिएको छ । सुपर सिक्समा आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएसँगै वेष्टइन्डिज बाहिरिएको हो ।
समान दुई पटक एक दिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिज आगामी भारतमा हुने एकदिवसीय विश्वकपको लागि छनोट हुनबाट असफल भएको छ ।
वेस्टइन्डिज इतिहासमै पहिलो पटक विश्वकपमा पुग्न नसकेको हो । जितको लागि १ सय ८२ रनको मध्यम लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डले वेस्टइन्डिजलाई ओडिआईमा पहिलो पटक हराएको हो ।
स्कटल्यान्डको जितमा विकेटकिपर म्याथ्यु क्रस १ सय ७ बलमा ७ चौकासहित ७४ रनमा नट आउट रहे । रिची बेरिंग्टन १४ बलमा २ चौकासहित १३ रनमा नटआउट रहे ।
ब्रेन्डन म्याकमुलेन १ सय ६ बलमा ८ चौका र १ छक्कासहित ६९ रनमा आउट भए । महत्वपूर्ण तीन विकेट लिँदै सानदार अलराउन्ड प्रदर्शन गरेका म्याकमुलेननै खेलको प्लेयर अफ द म्याच चुनिए ।
ओपनर क्रिस म्याक ब्राइड शून्यमै क्याच आउट भएका थिए । तर दोस्रो विकेटका लागि म्याकमुलेन र क्रसले १ सय २५ रनको शतकीय साझेदारी गरेपछि वेस्टइन्डिजको जितको सम्भावना समाप्त जस्तै भएको थियो । जर्ज मुन्शे ३३ बलमा १ चौकासहित १८ रनमा आउट भए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४३.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका जेसन होल्डरले ७९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४५ रनको योगदान दिए । रोमारियो शेफर्डले ४३ बलमा ५ चौकासहित ३६ रन बनाए । यी दुई बाहेक अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन ।
एक समय ८१–६ को दयनीय अवस्थामा पुगेको वेस्टइन्डिजलाई सातौं विकेटका लागि जेसन होल्डर र रोमारियो शेफर्डले ७७ रनको साझेदारी गरेका थिए । स्कटल्यान्डको तीव्र गतिको बलिङ आक्रामण सामु वेस्टइन्डिजको शीर्ष र मध्यक्रम ब्याटिङ निरिह सावित भयो ।
तीव्र गतिका बलर ब्रेन्डन म्याकमुलेनले दोस्रो ओभरको अन्तिम बलमा जोनसन चाल्र्सलाई शून्यमा क्याच आउट गराए । चौथो ओभरको अन्तिम बलमा शमाह्र ब्रुक्स पनि ब्रेन्डनकै बलमा मार्क वाटबाट क्याच आउट भए । ब्रेन्डन म्याकमुलेनले ब्रन्डन किंगलाई कट एण्ड बोल्ड गरेपछि वेस्टइन्डिज ५।२ ओभरमा २५–३ को अवस्थामा थियो । ब्रेन्डन किंग २२ बलमा ५ चौकासहित २२ रनमा आउट भए ।
त्यसपछि क्रिस सोलले कायल मयर्सलाई ५ रनमा बोल्ड आउट गरे । त्यो समय वेस्टइन्डिज ६।५ ओभरमा ३०–४ को दयनीय अवस्थामा पुगेको थियो । शाई होप र निकोलस पुरनले पाँचौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । होप शफ्यान शरिफको बलमा विकेटकिपर म्याथ्यु क्रसबाट १३ रनमा समातिन पुगे ।
मार्क वाटले पुरनलाई २१ रनमा पेभेलिएन फर्काएपछि वेस्टइन्डिजको जितको सम्भावना सकिएको थियो । पुरन आउट हुँदा वेस्टइन्डिज २०.४ ओभरमा ८१–६ को लज्जास्पद अवस्थामा थियो ।
स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनले ९ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । क्रिस सोलले ९ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । मार्क वाटले ७ ओभरमा १ मेडनसहित २५ रन खर्चेर २ विकेट लिए । क्रिस ग्रेभ्सले ७।५ ओभरमा ३० रन खर्चेर २ र शफ्यान शरिफले एक विकेट लिए ।
वेस्टइन्डिज समूह चरणबाट अंक विहीन हुँदै आएको थियो । अव बुधबार ओमान र शुक्रबार श्रीलंकासँग खेल्नेछ । यी दुबै टोलीलाई हराएपनि वेस्टइन्डिजको ४ अंक हुन्छ । उता जिम्बावे र श्रीलंका समान दुई खेल अगावै ६(६ अंकका साथ विश्वकप नजिक पुगेका छन् ।
स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । स्कटल्यान्डले मंगलबार र जिम्बावे र बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ । यी दुबै खेलमा विजयी भएमा विश्वकपको सम्भावना रहन्छ ।
प्रकाशित मिति: १६ असार २०८०, शनिबार