उमेर हद लागू भए पार्टीमा उपेन्द्र यादव सात वर्ष, अशोक राई चार वर्ष मात्र रहने !
काठमाडौं, असार १४
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टीमा सात वर्ष मात्र रहन पाउने भएका छन् । जसपाले बनाएको नयाँ विधानमा ७० वर्षे उमेर हद तोकिएको छ । यदि त्यो प्रावधान कार्यान्वयनमा आए पार्टी अध्यक्ष यादवले सात वर्षपछि पार्टीबाट अवकाश लिनुपर्ने हुन्छ ।
अध्यक्ष यादवको हालको उमेर ६३ रहेको छ । विधानमा ७० वर्षपछि पार्टीको केन्द्रीय समितिका लागि योग्य नहुने भनेको छ । त्यस्तै, पार्टी संघीय परिषद्का अध्यक्ष अशोक राईले चार वर्षपछि पार्टीबाट अवकाश लिनुपर्ने हुन्छ । शिक्षा मन्त्री समेत रहेका अध्यक्ष राईको हालको उमेर ६६ वर्ष रहेको छ । विधान तत्कालै कार्यान्वयनमा आए चार वर्षपछि राईले पनि पार्टीबाट अवकाश प्राप्त गर्नेछन् ।
तीन दिनसम्म चलेको विधान अधिवेशनमा ७० वर्षे उमेर हदको बारेमा व्यापक छलफल भएको थियो । सो छलफलमा अधिकांशले उमेर हदलाई समर्थन गरेका थिए भने केहीले यसको विपक्षमा धारणा राखेका थिए । अधिवेशनमा उठेका विषयहरूलाई समेटेर विधानलाई अन्तिम रूप दिन जसपाका अध्यक्ष यादवको संयोजकत्वमा एक समिति गठन भएको छ । समितिले उठेका विषयवस्तुलाई समावेश गरी अन्तिम रूपमा दिएर प्रमाणीकरण गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।
प्रकाशित मिति: १४ असार २०८०, बिहिबार