प्रतिनिधिसभा बैठक बस्दै, आजै बजेट पारित गर्ने तयारी
काठमाडौं, असार १३
प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बैठक बस्न लागेको हो । बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
लगत्तै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
अन्तिममा अर्थ मन्त्री डा। प्रकाश शरण महतले “विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उनले “आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव, “आर्थिक विधेयक, २०८०” माथि दफावार छलफलको लागि दिन तोकिने र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले आजै बजेट पास गर्ने तयारी गरेको छ । मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन् । गठबन्धनका केही दलले अझै निर्णय गरिसकेका छैनन् ।
कांग्रेस र माओवादीले मंगलबार नै सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएका छन्।
प्रकाशित मिति: १३ असार २०८०, बुधबार