वेस्टइन्डिजमाथि नेदरल्यान्ड्सको ऐतिहासिक जित


 


एजेन्सी । नेदरल्यान्ड्सले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजमाथि ऐतिहासिक जित दर्ता गरेको छ ।

नेदरल्याण्डले सुपर ओभरमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजलाई पराजित गरेको हो । नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई पहिलो पटक हराएको हो ।

सुपर ओभरमा वेस्टइन्डिजलाई जितको लागि ३१ रन चाहिँएको थियो । अलराउन्डर लोगन भान बीकलाई पहिलो बलमै जोनसन चाल्र्सले छक्का प्रहार गरे । दोस्रो बलमा उनले एक रन दिए । तेस्रो बलमा पनि एक रन दिएपछि जितको सम्भावना लगभग सकिएको थियो ।

चौथो बलमा चालर्स क्याच आउट भएपछि जितको सम्भावना समाप्त भएको थियो । पाँचौं बलमा शेफर्ड क्याच आउट भएपछि नेदरल्यान्ड्स सुपर ओभरमा विजयी भएको थियो ।

सुपर ओभरमा नेदरल्यान्ड्सले ३० रन बनाएको थियो । लोगन भान बिकले जेसन होल्डरलाई ६ बलमा तीन छक्का र तीन चौकासहित कुल ३० रन जोडेका थिए ।

सुपर ओभरको पहिलो बलमा भान बीकले जेसन होल्डरलाई चौका प्रहार गरे । दोस्रो बलमा बीकले होल्डरलाई छक्का हाने । तेस्रो बलमा उनले चौका प्रहार गरे । चौथो बलमा उनले छक्का प्रहार गरे । सुरुवाती चार बलमै २० रन जोडेको थियो । पाँचौं बलमा छक्का हानेपछि जित पक्का जस्तै गराएको थियो । अन्तिम बलमा चौका हानेपछि ३० रन बनाएको थियो ।

त्यसअघि जितको लागि ३ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७४ रन बनायो । यो नेदरल्यान्ड्सले ओडिआईमा बनाएको सर्वाधिक रन हो । यसअघि नेदरल्यान्ड्सले ओडिआईमा बनाएको उच्च योगफल नै ३ सय १५ रन बर्मुडाविरुद्ध थियो ।

जितको लागि अन्तिम बलमा एक रन चाहिँदा लोगन भान बिक क्याच आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । नेदरल्यान्ड्सको जितमा तेजा निडामानुरुले ७६ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ११ रनको सानदार शतकीय इनिङ खेले ।

उनको यो ओडिआई करिअरको दोस्रो शतक हो । उनी आउट हुँदा नेदरल्यान्ड्सलाई जितको लागि २४ बलमा ४८ रन चाहिँएको थियो । चेशले ४७ औं ओभरमा ६ रन मात्रै दिएपछि १८ बलमा ४२ रन चाहिँएको थियो ।

अन्तिम १२ बलमा नेदरल्यान्ड्सलाई जितको लागि ३० रन चाहिँएको थियो । स्पिनर रोश्टन चेशलाई ४९ औं ओभरमा लोगन भान बिकले दुई चौका र एक छक्का तथा आर्यन दत्तले एक चौका प्रहारगरेपछि कुल २१ रन जोडेको थियो ।

अन्तिम ६ बलमा नेदरल्यान्ड्सलाई जितको लागि ६ बलमा ९ रन चाहिँएको थियो । पहिलो बलनै बीकले अल्जारी जोशेफलाई चौका प्रहार गरे । दोस्रो बलमा एक रन लिदा तेस्रो बलमा दत्त १६ रनमा क्याच आउट भए । अन्तिम बलमा जितको लागि एक रन चाहिँदा बीक जेसन होल्डरबाट मिडअनमा क्याच आउट भएपछि खेल टाई हुँदै सुपर ओभरमा पुगेको थियो । बीकले १४ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए ।

कप्तान स्कट एडवार्ड्सले ४७ बलमा ६ चौका र १ छक्कासहित ६७ रन बनाए । पाँचौं विकेटका लागि स्कट एडवार्ड्स र तेजाले ९० बलमा १ सय ४३ रनको सानदार साझेदारी गरेपछि जितको सम्भावना देखाएका थिए ।
वेस्टइन्डिजका रोश्टन चेशले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । अकिल हुसैनले १० ओभरमा ७३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७४ रन बनाएको थियो । वेस्टइन्डिजका निकोलस पुरनले ६५ बलमा ९ चौका र ६ छक्कासहित १ सय ४ रनको आक्रामक शतकीय इनिङ खेलेका थिए । पुरनको यो ओडिआई करिअरको तेस्रो शतक हो । उनले ६३ बलमै शतक हानेका थिए ।

प्रकाशित मिति: ११ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्