नेपाल ४४.३ ओभरमा अल आउट, नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य


 


काठमाडौं, असार ९ । आइसिसी विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको ताकाशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा १ सय ६७ रनमा अल आउट भयो ।

नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए । अन्तिम विकेटको रुपमा आउट भएका सन्दीपले ३३ बलमा ४ चौकासहित २७ रन बनाए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेदरल्यान्ड्सको शर्ट बल सामु नेपाली ब्याटर निरिह जस्तै बनेपछि जित्नै पर्ने खेलमा खराब ब्याटिङ गरेको हो । नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर लोगन भान बिकको तेस्रो ओभरको दोस्रो बलमा आसिफ इन साइट एज लागेर बोल्ड हुन पुगे ।

कुशल भुर्तेल ४२ बलमा २ चौकासहित २७ रनमा आउट भए । तीव्र गतिका बलर विक्रमजित सिंहको १४ औं ओभरको पाँचौं बलमा कट खेल्ने धुनमा कुशल विकेटकिपर स्कर्ट एड्वार्ड्सबाट समातिन पुगे । कुशल आउट हुँदा नेपाल १४।५ ओभरमा ४६–२ को अवस्थामा थियो । कुशल र भीमले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । त्यो नै नेपाली ब्याटरले गरेको उच्च साझेदारी बन्यो ।

विक्रमजितकै बलमा आरिफ शेख ६ रनमा बिकबाट क्याच हुँदै पेभेलिएन फके । भीम सार्की ५६ बलमा १ चौकासहित २२ रनमा क्याच आउट भए । भीम स्पिनर क्लेटन फ्लोयडको अफ साइटको बलमा शरिज अहमदबाट क्याच आउट भएका थिए । भीम आउट हुँदा नेपाल १८।१ ओभरमा ६६–४ को अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि रोहित र कुशल मल्लले २५ रनको साझेदारी गरेका थिए । कुशल मल्ल स्पिनर आर्यन दत्तको २६ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा मिड अनमा तेजा निडामानुरुले १२ रनमा उत्कृष्ट क्याच लिए । उनले १९ बलमा १ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेल पुन सर्ट बलमा आउट भए । तीव्र गतिका बलर भान बीकको ३२ औं ओभरको पाँचौं बलमा सट बलमा पुल खेल्ने धुनमा मिडविकेटमा विक्रमजित सिंहबाट क्याच आउट भए । भान बिकै शट बलमा दीपेन्द्र एज लागेर विकेटकिपरबाट १४ रनमा क्याच आउट भए ।

आठौं विकेटका लागि गुलशन र सन्दीपले ३२ रनको साझेदारी गरेका थिए । गुलशन बास डि लिडेको बलमा विकेटकिपर स्कटबाटै आउट भए । गुलशनले ३१ बलमा १५ रन बनाए । लिडे कै बलमा करण एक रनमा आउट भए ।

नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकले ९।३ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । बास डि लिडे र बिक्रमजित सिंहले समान दुई विकेट लिए ।

प्रकाशित मिति: ९ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्