नेदरल्याण्ड्सविरुद्ध नेपालले पायो ब्याटिङको निम्तो
काठमाडौं, असार ९ । विश्वकप छनोट अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङको निम्तो पाएको छ। नेदरल्याण्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेको हो।
आज दिउँसो पौने १ बजे नेपाल र नेदरल्याण्ड्स जिम्बावेको हरारेस्थित टाकासिंगा स्टेडियममा आमनेसामने हुनेछन्।
यो खेलको नतिजाले समूह ‘ए’बाट शीर्ष तीनमा रहेर सेमिफाइनल पुग्ने टोलीको समीकरणमा ठूलो प्रभाव पार्छ। समूह ‘ए’मा वेस्ट इण्डिज र जिम्बावे खेलेका दुईमध्ये दुवै खेलमा जित निकाल्दै शीर्ष दुईमा छन्।
तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले १ जित र १ हार ब्यहोर्दै दुई अंक जोडेको छ भने ३ खेलबाट एकमा जित निकालेको नेपालको पनि २ अंक नै छ।
आजको खेल समूह चरणमा नेपालको अन्तिम खेल हो भने नेदरल्याण्ड्सले नेपालपछि वेस्ट इण्डिजसँग खेल्नेछ। अमेरिका लगातार तीन खेलमा पराजित हुँदै शीर्ष तीनको होडबाट बाहिरिसकेको छ।
नेपाल र नेदरल्याण्ड्सले दुई पटक एकदिवसीय अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरेका छन्। जसमा दुवै टोलीले एकरएक पटक खेल जितेका छन्।
एकदिवसीय वरीयताका हिसाबले नेपाल १४औँ स्थानमा छ भने नेदरल्याण्ड्स १७औँ स्थानमा छन्। सेमिफाइनलमा पुग्न दुवै टोली जित्नै पर्ने दबाबमा छन्।
नेपाली टोली रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सन्दीप लामिछाने, करन केसी, ललित राजवंशी छन् ।
प्रकाशित मिति: ९ असार २०८०, शनिबार