लोकसेवाको परीक्षामा चिट चोर्ने एक परीक्षार्थीलाई कारवाही
काठमाडौं, असार ८ । लोकसेवा आयोगले परीक्षामा चिट चोर्ने एक जनालाई कारवाही गरेको छ ।
शाखा अधिकृत वा सो सरहको पदको वैशाख २७ देखि २९ गतेसम्म लिइएको लिखित परीक्षामा चिट चोर्ने सृजना पन्थीलाई आयोगले कारबाही गरेको हो । उनले प्रवेश पत्रको पृष्ठ भागमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको आयोगले जनाएको छ ।
सोही आधारमा आयोगको ऐन २०७९ को दफा ४१ को १ (क) बमोजिमको कसुर गरेको पाइएको भन्दै उनलाई आगामी एक वर्षको लागि लोकसेवा आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाएको छ ।
परीक्षामा चिट चोरेमा वा चोराएमा, अर्काको नक्कल गरेमा वा गराएमा वा विद्युतीय उपकरण प्रयोग गरी परीक्षामा अनियमित काम गरेमा दुई वर्षसम्म आयोगबाट लिइने परीक्षमा उम्मेदवार हुन नपाउने गरी लोक लगाउन सकिने कानूनी प्रावधान रहेको छ ।
प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार