‘चीनले क्यानेडाली नागरिकलाई प्रयोग गरी जासुसी गरिरहेको छ’


 


काठमाडौं, असार ८
चीनमाथि विशेष उच्च क्षमताका क्यानाडाली नागरिकहरूलाई जासुसी गर्न लगाइरहेको आरोप लागेको छ । चिनियाँ गुप्तचर अधिकारीहरूले क्यानाडाली नागरिकलाई उनीहरूले थाहा नपाउने गरी बेइजिङका लागि जासुसी गर्न लगाइरहेको क्यानाडाको राष्ट्रिय जासुस एजेन्सीले बताएको छ ।

चीनले आफ्ना विभिन्न आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको आरोपकाबीच क्यानाडाली सुरक्षा खुफिया सेवा (सीएसआईएस)को चेतावनी आएको हो ।

चिनियाँ गुप्तचर अधिकारीहरूले गोप्य र विशेषाधिकार प्राप्त जानकारीमा पहुँच पुर्‍याउन कसरी स्वदेशी र विदेश क्यानाडालीहरूलाई लक्षित गरिरहेको छ भने विस्तृत कुरा खुलाउँदै सीएसआईएसले मंगलबार साँझ ट्विटर थ्रेड पोस्ट गरेको थियो ।

“उनीहरूले रणनीतिक क्षेत्रमा सक्रिय रूपमा जागिर खोजिरहेका वा हाई भ्याल्यू कागजपत्र भएका व्यक्तिहरूलाई खोजिरहेका छन्,” सीएसआईएसले भनेको छ, “लिंक्डइन र अन्य सबै अनलाइन प्लेटफर्ममा तपाई कोसँग जोडिँदै हुनुहुन्छ भन्नेमा सावधान रहनुहोला ।”

जासुसीका लागि सुरुमा लिंक्डइनबाट मान्छेको खोजी हुने पोस्टमा भनिएको छ । त्यसपछि ती व्यक्तिहरूलाई पैसा दिएर विभिन्न रिपोर्ट लेख्न लगाइने क्यानेडाली गुप्तचर निकायको भनाइ छ । पछिल्ला महिनाहरूमा चीन र क्यानाडाबीचको सम्बन्ध विभिन्न किसिमका आरोप प्रत्यारोपका कारण बिग्रिँदै गएको छ ।

प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्