अदालतको आदेशपछि शैक्षिक मेला असार ८ गतेदेखि सञ्चालन हुने


 


काठमाडौं, असार ७ । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रोकेको ८ औं कान्तिपुर हिसान एडु फेयर (शैक्षिक मेला) असार ८ गतेबाट फेरि सञ्चालन हुने भएको छ ।

अदालतले शैक्षिक मेला नरोक्न आदेश दिएपछि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान)ले पुनः मेला गर्न लागेको हो । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले मेला आयोजना गर्ने जानकारी गराएको हो ।

हिसान र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८,९ र १९ गते मेला पुनः सञ्चालन हुने भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले उच्च अदालत पाटनका तर्फबाट मेला सञ्चालन गर्न अनुमति दिएसँगै मेला सञ्चालन गर्न लागेको बताए ।

उनले यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना गरिएको भएपनि काठमाडौं महानगरका तर्फबाट गैरकानूनी ढंगले अवरोध सिर्जना भएको उनको भनाइ छ ।

उनले मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिनसक्ने बताए ।

गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्