समाजवादी मोर्चाबारे बाबुरामको टिप्पणी – पुरानै गाडी डेन्टिङ पेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन ?


 


काठमाडौं, असार ७
समाजवादी मोर्चा गठनबारे नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा आलोचना गरेका छन् । बुधबार राति सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले अहिलेको मोर्चा पुरानै गाडीको डेन्टिङ पेन्टिङ भएको आरोप लगाएका हुन् ।

उनले समाजवादी विकल्प निर्माणको सन्दर्भमा अहिले भइरहेका बहस अन्तरनिहीत विचार,राजनीति,संगठन,संस्कारको रूपमा बुझ्नुपर्ने बताए । व्यक्तिगत लाभहानी,रिसइवी,धोकाधडीको रुपमा वैकल्पिक शक्तिको नयाँ समाजवादी निर्माण नहुने उनको भनाई छ ।

अहिलेको मोर्चा पुरानै गाडीको डेन्टिङ पेन्टिङ भएको आरोप लगाउँदै भनेका छन्, ‘पुरानै गाडी डेन्टिङ पेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन सहितको नयाँ गाडी बनाउने मुख्य बहस हो।’ अगुल्टो ठोसेर नै आगो बल्ने बिर्सिन नहुने बताउँदै उनले एकता, संघर्ष र रूपान्तरणको विधि अनुशरण गर्न बिर्सिन नहुने उनको भनाई छ ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा मा‌ओवादी र नेकपा एकीकृत समाजजवादी मिलेर गत सोमबार समाजवादी मोर्चा गठन भएको थियो । तर मोर्चाका शूत्रधार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई नै त्यहाँ अटाउन सकेका थिएनन् ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्