नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ : अध्यक्ष तिमिल्सिना


 


काठमाडौं, असार ३
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौँ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले नेपाल सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेको स्पष्ट पारे ।

विश्व शक्तिको रूपमा उदाएको चीनले भौगोलिक र सामरिक हिसाबले सानो छिमेकी मुलुक नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्दै आएको उल्लेख गर्दै उनले भने, “नेपाल पनि सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग छ र आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध छ ।”

नेपाल–चीनले एक अर्काको स्वाभिमानलाई सम्मान गर्दै आएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले भने, “शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्तका आदर्शहरूमा दुवै देशको अटल विश्वास छ। चीन र नेपाल एक अर्काको स्वाभिमान, अस्तित्व र अखण्डताको सधैँ सम्मान गर्दै आएका छन्।”

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्