संसदीय सुनुवाइ समितिमा कार्कीको जवाफ – ममाथि लागेको कुनै पनि आरोप प्रमाणित भए राजीनामा दिन्छु


 


काठमाडौं, असार १
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सवाल जवाफ जारी छ।

सवाल जवाफका क्रममा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले आफूमाथि लागेका कुनै पनि आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको बताएका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीले भने, ‘ममाथि लागेको कुनै पनि आरोपमा सत्यता छ भन्ने प्रमाणित भयो भने राजीनामा दिएर बाहिरिनेछु ।’

संसदीय सुनवाइ समितिमा शुक्रबार समिति सदस्यहरुले आएका उजुरीहरुबारे प्रश्न गरेका थिए । जवाफमा उनले त्यसमा कुनै सत्यता नभएको बताए । संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।

संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्