पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा अनिश्चित
विराटनगर, जेठ ३२ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नै स्थगित भएको छ । सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीका कारण परीक्षा स्थगित गरिएको हो ।
२८ जेठमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका थिए ।
तालाबन्दीका कारण ३२ जेठबाट हुने इन्जिनियरिङ, ३ असारबाट हुने साइन्स एण्ड टेक्नोलोजी, ८ असारबाट हुने मेडिकल शिक्षा र १० असारबाट हुने व्यवस्थापन संकायको परीक्षा अनिश्चित भएको हो।
पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको बताएको छ । परीक्षा नियन्त्रक बालेन्दु हमालले तालाबन्दीका कारण सञ्चालनमा रहेका बाहेक अन्य परीक्षा अन्योलमा रहेको बताए ।
विद्यार्थी संगठनहरुले भने सेवा आयोगमार्फत सेटिङमा कर्मचारी भर्ना गर्न खोजिएपछि विज्ञापन रद्द गर्नका लागि तालाबन्दी गरेको बताएका छन् ।
विश्वविद्यालय सेवा आयोगले २०५७ सालपछि १५ चैत २०७८ मा ११५ पदका लागि विज्ञापन खुलाएको थियो । सुरुदेखि नै विवादमा परेको विज्ञापनको पहिलो चरणको परीक्षा भने सकिएको छ ।
पहिलो चरणको परीक्षा भइसकेका कारण रद्ध गर्ने अधिकार आफूसँग नभएको सेवा आयोगका अध्यक्ष महेश दाहाल बताउँछन् ।
सेवा आयोगको परीक्षा रद्द गर्न माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले अध्यक्ष दाहाललाई क्वार्टरमै पुगेर कालोमोसो दलेका थिए ।
प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार