प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ आज हुँदै


 


काठमाडौं, जेठ ३२
संसदीय सुनुवाई समितिमा बिहीबार हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउने सिफारिसमाथि छलफल हुँदैछ ।

समितिले कार्कीलाई बिहीबार बिहान ८ बजे समितिमा डाकेको छ । समितिमा बुधबार उजुरीकर्ताहरुसँग सामान्य छलफल गरेको थियो । कार्कीविरुद्ध समितिमा २९ वटा उजुरी परेकोमा उजुरीकर्ताहरुसँग करिब २० मिनेट सामान्य छलफल गरिएको थियो । तर, उजुरीको विषयमा छलफल हुन सकेन ।

त्यसपछि समितिले समय सकियो भन्दै उनीहरुलाई बाहिर पठाएको थियो । गत वैशख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन ।

तात्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।

हाल कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा हुनुहुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्